काठमाडौं । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ८९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’ को काम अलपत्र परेको छ ।
सरकारको ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्ने गरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो । आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेवबेंसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेंसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मंसिरमा सक्ने गरी २०७४ असार २१ मा सम्झौता गरेको थियो । दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटक–पटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो ।
खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीयले पेयजल प्राप्तिमा दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिकभार बेहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ‘ठेकेदार कम्पनीले चारपटक म्याद थप गराइसकेको छ । ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ’, उनले भने, ‘यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’
महादेवबेंसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ । यसमध्ये एक नम्बर ‘प्याकेज’ को ‘मेनलाइन’ को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ । आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ । उक्त आयोजनाअन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ ।
दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । शाखा लाइन विस्तारको ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन् । लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार चार सय नौ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन । भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताए ।
लामा कन्स्ट्रक्सनले ३७ करोड ९३ लाखको लागतमा २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीनवटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो ।
यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो । २६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्याङ्की, डिसी-डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो । निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन् ।
आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए । आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुलकुमारलाल दासले जानकारी दिए । ‘अहिले वर्षाकाल भएकाले काम रोकिएको छ’, उनले भने, ‘दसैंअघि मेनलाइनको काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ ।’ रासस