Logo

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ, ७५ प्रतिशतमा पूर्ण छात्रवृत्ति

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबीबीएसको पढाइ, ७५ प्रतिशतमा पूर्ण छात्रवृत्ति



काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए ।

सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL