Logo

असोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?

असोज ७ देखि चाडपर्व लक्षित सहुलियत पसल : के मा कति रुपैयाँ दिइँदैछ छुट ?



काठमाडौं । नेपालीहरुको घर आँगनमा छिट्टै चाडपर्व भित्रिँदै छ । दशैं नजिकिँदै गर्दा व्यापारी–व्यवसायीहरुले सामग्रीहरुको भण्डार बढाउँदै लगेका छन् । यस्तै चाडपर्वको बेला उपभोक्ताको हितलाई लक्षित गर्दै विभिन्न निकायले बजार अनुगमनका योजनाहरु ब्नाउन थालेका छन् ।

यता नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै सरकार पनि आवश्यक तयारीमा जुटेको छ । सरकारले चाडवाडको समयमा उपभोक्तालाई खाद्यादेखि विभिन्न सामान खरिदमा सहुलियत दिनका लागि यस वर्षका लागि पनि तयारी अगाडि बढाएको छ । चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ देखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय भएको जनाएको छ । चाडपर्वका बेला व्यापारीले बजारमा मनपरी रुपमा भाउ नबढाउन् भनेर सरकारले सहुलियत पसल सञ्चालन गर्दै आएको छ । अघिल्ला वर्ष जस्तै यसपालि पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संथानले सहुलियत पसल सञ्चालन गर्न आवश्यक तयारी अगाडि बढाएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म छुटसहितको सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ । सहुलियत पसलमा खाद्यान्नमा प्रति किलो रुपैयाँसम्म र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिएका छन् । त्यस्तै दुग्धजन्य पदार्थमा ७ रुपैयाँसम्म छुट दिइने भएको छ । आचार्यका अनुसार कम्पनीले देशका विभिन्न स्थानमा ६१ वटा सहुलियत पसल सञ्चालन गर्नेछ ।

कम्पनीले असोज ७ देखि फागु पूर्णिमासम्म करिब ५० क्विन्टल खाद्यान बिक्री गर्ने लक्ष्य राखेको छ । यसपालिको दशैंमा कम्पनीले १५ सय खसीबोका र ३०० वटा च्याङ्गा बिक्रीमा राख्ने तयारी गरेको छ । पोहोर खसीबोका बेच्न समस्या भएका कारण यसपालि संख्या घटाउन लागिएको बताइएको छ । ग्राहकले सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट पाउने भएका छन् । कर्णालीको रैथाने चामलमा ७ रुपैयाँ छुट हुने जनाइएको छ ।

तेलमा प्रतिलिटर ७ रुपैयाँ, दालमा प्रतिकिलो ५ रुपैयाँ, कर्णालीको दाल र सिमीमा प्रतिकिलो ७ रुपैयाँ, गेडागुडीमा प्रतिकिलो ७ रुपैयाँ र घ्यूमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने निर्णय भएको जनाइएको छ । यस्तै उपभोक्ताले चिनीमा ५ रुपैयाँ छुट पाउने भएका छन् । गत वर्ष साल्ट ट्रेडिङसँग पर्याप्त चिनी नभएको कारण देखाएर ग्राहकलाई छुट दिइएको थिएन । चाडपर्व लक्षित सहुलियत पसलका लागि सरकारले तीन करोड रुपैयाँ बजेट छुट्याएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL