Logo

ऐतिहासिक पदक जितेकी पलेशालाई काठमाडौं महानगरको पाँच लाख नगदसहित सम्मान

ऐतिहासिक पदक जितेकी पलेशालाई काठमाडौं महानगरको पाँच लाख नगदसहित सम्मान



काठमाडौं । काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा महानगरले पलेशालाई पाँच लाखसहित सम्मान गरेको हो ।

महानगरपालिकाले प्रशिक्षक रविराज नेगीलाई पनि नगद तीन लाखसहित सम्मान गरेको छ । पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गत शुक्रबार सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ किलोमनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै काँस्य पदक जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।यसअघि काठमाडौं महानगरले काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्यलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै प्रशिक्षक जगदिश भट्ट, सहायक प्रशिक्षक भरत यादव, फिजियो लोकेन्द्र कँवर र व्यवस्थापक निलम बज्राचार्यलाई जनही ५० हजार रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL