Logo

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छ : अर्थमन्त्री पौडेल



काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताएका छन्। आइतबार आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताएका हुन्।

‘आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन। बजारमा माग बढ्न नसकेको गुनासो छ। अर्थतन्त्र दबाबमै छ,’ अर्थमन्त्री पौडेलले भने, ‘केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो।’

उनले आफूहरुले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताए। अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उनको भनाइ थियो।

मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए। निजी क्षेत्रले गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने धारणा पनि अर्थमन्त्री पौडेलले राखे।

‘अब निजी क्षेत्र गुनासोबाट बाहिर आउनुपर्छ। सरकार तपाईंहरुका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ,’ उनले भने, ‘निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ।’

चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL