Logo

२० दिनदेखि सवारी चालक लाइसेन्स छपाई ठप्प, प्रिन्टर बनाइदिन भारतीय कम्पनीसँग हारगुहार

२० दिनदेखि सवारी चालक लाइसेन्स छपाई ठप्प, प्रिन्टर बनाइदिन भारतीय कम्पनीसँग हारगुहार



काठमाडौं । केही वर्षयता निकै समस्याग्रस्त रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई पुनः रोकिएको छ । लाइसेन्सका लागि आवश्यक पर्सनलाईज्ड गरिसकिएका स्मार्ट कार्डहरु प्रिन्ट गर्ने बेलामा इरर देखिएपछि पछिल्लो करिव २० दिनदेखि यातायात व्यवस्था विभागले लाइसेन्स छपाईका काम गर्न नसकेको हो । यससँगै सरकार लाइसेन्स वितरणमा पुनः एकपटक असफल भएको देखिएको छ ।

हाल विभागसँग भएको मास प्रिन्टरमा नयाँ कार्डहरु छाप्ने क्रमम समस्या सिर्जना भएसँगै विभागमा लाइसेन्स छपाईका लागि आउने ब्याकलग दिनानुदिन थपिँदै गएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु बताउँछन् । उनका अनुसार पछिल्लो करिव २० दिनदेखि पर्सनलाईज्ड गरिएका कार्डहरु छाप्नेक्रममा इरर आइरहेको छ । यसमा कार्डको समस्या या प्रिन्टरको भन्ने कुरा भने हालसम्म पत्ता नलागिसकेको उनले बताए ।

तर, विभागले अत्यावश्यक लाइसेन्सहरु भने भटाभट छपाई गरेर वितरण गरिरहेको उनले बताए । ‘हामीसँग भएका केहि पुराना कार्डहरु भने हामीले भटाभट छापेर अत्यावश्यक परेका सेवाग्राहीलाई वितरण गरिरहेका छौं,’ उनले भने, ‘पुराना कार्डह छाप्ने तर, नयाँ कार्डहरु नछाप्ने समस्या हाल प्रिन्टरमा देखिएको छ ।’

नयाँ कार्डको डाटा पर्सनलाइजेसनमा समस्या होकि भन्ने प्रश्नमा उनले नयाँ कार्डहरु पनि सोही प्रिन्टरबाट हालसम्म ३ लाख बढी छापिसकेको र त्यसपछि मात्रै समस्या देखिएको बताए । ‘हालसम्म नयाँ आएका कार्डहरु पनि पर्सनलाईज्ड गरेर ३ लाख बढी छापिसकिएको छ,’ उनले भने, ‘३ लाख कार्ड छापिँदासम्म केहि नहुने त्यसपछि मात्रै समस्या देखिएपछि यो समस्या प्रिन्टरकै भएको आँकलन गरिएको छ ।’

हाल विभागले छाप्ने लाइसेन्सका लागि कार्डको आपुर्ति गएको जेठमा मात्रै जर्मनीको मुलबहुर आईडी सर्भिसले गरेको थियो । यसको छपाईको काम ईटालीको माटिका कम्पनीले उपलब्ध गराएको मास प्रिन्टरमार्फत भईरहेका थियो । यसरी छपाई हुने कार्डमा डाटा पर्सनलाईजेशनको काम भने भारतको चेन्नेईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्स (एमसएपी)ले गरिरहेको छ । हाल लाइसेन्स छापिरहेको मास प्रिन्टरको आपुर्तिकर्ता पनि एमससपी नै हो ।

यी तीनै कम्पनीबीच समन्वयको अभावकै कारण लाइसेन्स पर्सनलाईजेसन, छपाई र आपुर्तिमै पछिल्लो केहि बर्षदेखि समस्या निम्तिरहेको विभागका अधिकारीहरु बताउँछन् । त्यसैको समाधानका लागि गत बर्ष विभागले नयाँ टेण्डर आह्वान पनि गरेको थियो । तर, उक्त टेण्डरमा आवेदन दिएका कम्पनीको क्राइटेरिया नपुगेपछि टेण्डर नै रद्द गरिएको थियो । हाल विभागसँग लाइसेन्स छाप्नका लागि एउटा मास प्रिन्टर मात्रै छ । उक्त प्रिन्टरले दैनिक ४ हजार ५ सय थान लाइसेन्स छाप्ने गरेको छ ।

विभागले स्मार्ट लाइसेन्स भनिएको लाइसेन्स छापेर दिन नसक्दा १७ लाख बढी सेवाग्राहीहरु ट्रायल दिएर लाइसेन्सका लागि पर्खिरहेका छन् । यसैबेलामा प्रिन्टरले नै काम नगरिदिँदा विभागको लाइसेन्स वितरण प्रक्रिया अन्योलमा फसेको छ । विग्रिएको प्रिन्टर बनाउने जिम्मा आपुर्तिकर्ताकै भएको भन्दै विभागले एमएसपीसँग हारगुहार गरिरहेको विभागका एक अधिकारीले बताए । ‘बर्षाैंदेखि लाइसेन्स वितरणमा झमेला खडा गर्दै आएको एमएसपीले नै प्रिन्टर आपुर्ति गरेकाले यसको मर्मत पनि उसैले गर्नुपर्ने हो,’ उनले भने, ‘तर, उसले यसमा पनि बखेडा झिक्नेवाला छ ।’ एमएसपीले प्रिन्टर विग्रेको २० दिनसम्म वित्दापनि त्यसमा आवश्यक चासो भने नदेखाएको विभाग स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL