Logo

नाडा अटो शो २०२४ : कुन गाडी खरिद गर्दा कस्तो छुट पाइन्छ ?

नाडा अटो शो २०२४ : कुन गाडी खरिद गर्दा कस्तो छुट पाइन्छ ?



काठमाडौं । प्रत्येक बर्ष नेपालीहरुको ठुलो पर्व दशैं अघि आयोजना हुने नाडा अटो शो ले दशैंकै रौनक ल्याउँछ । सवारी पारखीहरुलाई बजारमा आएका नयाँ गाडीहरु हेर्न र सवारी खरिद गर्न मन लागेकालाई विशेष अफरसहित खरिदका लागि अवसर पनि जुर्छ ।

त्यहि सिलसिलालाई पछ्याउँदै सवारी विक्रेता कम्पनीहरुले यो बर्ष पनि १६ औं संस्करणको नाडा अटो आफुले भित्र्याएका नयाँ सवारीहरु प्रदर्शनमा राखेका छन् । अघिल्ला बर्षहरुको तुलनामा यो बर्षको अटो शो मा भने विद्युतीय सवारीसाधनको बाहुल्यता रहेको छ । विश्वपरिवेशलाई पछ्याउँदै नेपालले पनि इन्धन गाडीलाई विद्युतीय गाडीले प्रतिश्थापन गर्ने नीति लिएपनि सवारी कम्पनीहरुले धमाधम विद्युतीय सवारीसाधनहरु भित्र्याउन थालेको प्रभाव अटो शो मा देखिन्छ ।

यति मात्रै होईन यी सवारीसाधनहरुमा नाडा अटो शो लाई नै लक्षित गरी ग्राहकहरु आकर्षित गर्न सवारी विक्रेता कम्पनीहरुले विभिन्न छुट अफरहरु पनि सार्वजनिक गरेका छन् । यो लेखमा हामी कुन कम्पनीले कस्ता सवारीसाधनमा कस्तो छुट दिएका छन् भन्ने बारे चर्चा गर्नेछौं ।

ह्युन्डाईको १० लाखसम्म छुट पाइने अफर

आईतबारसम्म चल्ने नाडा अटो शोमा ह्युन्डाईले पनि स्टल स्थापना गरी आफ्ना विभिन्न नयाँ गाडीहरु प्रदर्शनीमा राखेको छ । यी गाडीहरुको खरिद गर्ने खरिदकर्तालाई भने हुन्डाईले १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बित्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो सो–२०२४ लक्षित फेस्टिभ लिडाइट २०८१ योजनासमेत ल्याएको छ । सोही योजनाअनुसार हुन्डाईका क्रेटाको २०२३ र २०२४ भर्सन, नियोस, आयोनिक ५, स्यान्टा फे, प्यालिसेड, कोना, टुसान, एक्सटर र भेन्यु गाडी खरिदमा छुट पाइनेछ ।

यस्तै यो योजना अनुसार एक जना विजेताले लक्की ड्रमार्फत मेड इन नेपाल हुन्डाई भेन्यु जित्न सक्ने अवसर छ । साथै स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि उक्त योजनामा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रदर्शनीमा क्रेटा, आइ २० एक्टिभ, आयोनिक, ग्राण्ड आइ १०लगायतका गाडीहरु प्रदर्शनीमा राखेको छ ।

स्काइवेलले ५ लाखसम्म छुट दिँदै

चिनियाँ प्रिमियम विद्युतीय सवारी उत्पादन ब्रान्ड स्काइवेलले यसपल्टको अटो शोमा दुई नयाँ गाडी सार्वजनिक गरेको छ । नेपालमा स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्सले यसपल्ट नाडा अटो शो मा प्रिमियम विद्युतीय एसयूभी बीई ११ का दुई भेरियन्ट र ईटी ५ सार्वजनिक गरेको छ । कम्पनीले उक्त गाडीहरुले नेपालमै सिंगल चार्जमा ६ सय २० किलोमिटरसम्म रेन्ज दिने बताएपछि उक्त गाडी हेर्नेको घुँचो हुन्छ ।

यसपल्टको नडा अटो शोमा स्काइवेलका सबै मोडलका गाडीहरुमा छुट पाइने कम्पनीले जानकारी दिएको छ । अटो शो अवधिभर कम्पनीको सबै मोडलका गाडी खरिद गर्न बुकिङ गरेमा ग्राहकले ५ लाख रुपैयाँसम्मको छु्ट पाउने छन् ।
प्रदर्शनीमा कम्पनीका बीई११ का दुई भेरियन्ट र ईटी ५ गरि तीनवटा मोडलका गाडी सार्वजनिक गरिएका छन् ।

महिन्द्राका गाडीमा ७ लाखसम्म छुट

यसपल्टको नाडा अटो शो मा महिन्द्राले एक्सयुभी ७००, विद्युतीय गाडी एक्सयुभी ४०० र स्कोर्पीयो प्रदर्शनीमा राखेको छ । नेपालमा महिन्द्राको आधिकारीक वितरक कमपनी अग्नी इन्कर्पोरेटले अटो शो अवधिभर यी गाडीमा छुट प्रदान गर्ने जानकारी दिएको छ । जसमा स्करपियोको खरिद मा २ लाख रुपैयाँ र एक्सयूभी ७०० को खरिदमा ४ लाख रुपैयाँसम्म छुट दिने कम्पनीले जानकारी दिएको छ ।

नेटा गाडीको खरिदमा विशेष छुट

सिजी मोटर्सले नाडा अटो शोमा सार्वजनिक गरिरहेको नेटाका विभिन्न भेरियन्टमा उचित तवरले छुट अफर दिँदै आएको जानकारी दिएको छ । कम्पनीले नाडा अटो शो अवधिभर नेटा भी भेरियन्टका गाडी ४ लाख रुपैयाँसम्म छुट दिँदै आएको छ ।
नाडा अटो शो मा सिजी मोटर्सका मात्रै ८ स्टल छन् । यी स्टलहरुमा कम्पनीले नेपालमा हालसम्म नभित्रिएका ब्राण्डहरु पनि भित्र्याएर प्रदर्शनीमा राखेको छ ।

टाटाको आकर्षक टुर अफर

नेपालमा टाटा मोटर्सका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडर्सले पनि नाडा अटो शोमा टाटाको पन्च ईभी, आईसीई पन्च, टियागो ईभी, टिगोर ईभी र आईसीई नेक्सनलगायतका गाडीहरु प्रदर्शनीमा राखेको छ । यी गाडीहरुको खरिदमा कम्पनीले टुर अफर ल्याएकोे छ । नाडा अवधिभर गाडी खरिद गर्ने ग्राहकहरुलाई कम्पनीले छुट तथा भ्रमणको अवसर पाउन सकिने गरी अफर सार्वजनिक गरेको हो ।

जस अन्तर्गत गाडी खरिद गर्ने ग्राहकले जोडी थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन । आईसीई (पेट्रोल तथा डिजेल) नेक्सन र पन्च गाडी किन्ने ग्राहकले जोडी टर्की भ्रमणको मौका पाउनेछन । यस्तै छुट अफरमा भने टियागो इभी खरिद गर्दा १ लाख रुपैयाँसम्मको छुट पाउन सकिनेछ । साथै थाइल्याण्ड टुरको पनि सुविधा हुने कम्पनीले जनाएको छ । यसका साथै पेट्रोल तथा इन्धनबाट चल्ने टाटा नेक्सन गाडी खरिदमा पनि ३ लाख रुपैयाँसम्मको छुट पाउन सकिने कम्पनीले जानकारी दिएको छ । नाडा अटो शो मै सार्वजनिक गरिएको पन्च इभीमा हाल अवलोकनकर्ताहरुको भिड लाग्ने गरेको छ । उक्त गाडीको खरिदमा भने कम्पनीले ८ बर्षसम्म निशुल्क चार्जिङ गर्न पाउने सुविधा दिएको छ ।

सिट्रोन

नेपालमा सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले नाडा अटो शो मार्फत गाडी खरिद गर्ने ग्राहकहरुलाई विभिन्न छुट अफरहरु सार्वजनिक गरेको छ । कम्पनीले अटो शोमा ई सी ३ साइन इभी, सिट्रोन सी, सि ५लगायतका गाडीहरु प्रदर्शनीमा राखेको छ । यी गाडीहरुमध्ये ई–सी३ शाइन’ इभी गाडीमा १ लाख २५ हजार रुपैयाँसम्म र पेट्रोलबाट चल्ने सिट्रोन सी–३ मा १ लाख ५० हजार रुपैयाँ छुट दिने कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले विद्युतीय गाडी सिट्रोन सी ३ लाई भने ७ लाख रुपैयाँ डाउन पेमेन्टमै घर लैजान सकिने जनाएको छ । यसअन्तर्गत मूल्य छुटसहित चार वर्षको लागि निःशुल्क इन्धन, चार वर्षकै लागि निःशुल्क मर्मत सुविधा, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क सडक कर लगायतका सुविधा उपलब्ध हुनेछन् ।

यस्तै सवारी विक्रेताहरुले कियाको सेल्टास, सिजीले बेच्ने रिडारा, अवतार, एओन, बिवाइडी, लीपमोटर, दीपल, सुचुकी, केई, बीएमडब्लु, एमजी र ओमोडा ब्राण्डका गाडीहरुमा विशेष छुट दिईरहेका छन् । यी सवारीसाधन विक्रेताका अनुसार धेरैजसो गाडीहरुमा इन्स्योरेन्स छुट, चार्जिङ छुट र सडक कर छुटलगायतका अफरहरु समावेश छन् । तर केहि ब्राण्डका गाडी खरिदमा भने कम्पनीहरुले नगद छुटसम्मको सुविधासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL