Logo

पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक कास्य पदक, सरकारबाट ६५ लाख पुरस्कार पाउने

पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक कास्य पदक, सरकारबाट ६५ लाख पुरस्कार पाउने



काठमाडौं । पलेशा गोवर्धनले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै कास्य जितेकी हुन् ।

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजैको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टर फाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो ।

१० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् ।
यस्तै सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् । कास्य पदक जितेकी पलेशाले सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबलमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई एक करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL