Logo

गैरकानूनीरुपमा कार्यविधि नै परिवर्तन गरेर पर्यटन बोर्डमा सिइओ छानिदै, उम्मेदवारको अन्तर्वार्ता आगामी साता

गैरकानूनीरुपमा कार्यविधि नै परिवर्तन गरेर पर्यटन बोर्डमा सिइओ छानिदै, उम्मेदवारको अन्तर्वार्ता आगामी साता



काठमाडौं । पछिल्ला वर्षहरुमा विभिन्न स्वार्थ समूहको चलखेलको केन्द्र बनेको नेपाल पर्यटन बोर्डमा केही समययता नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि जोडघटाउ चलिरहेको छ । तत्कालीन सीईओ डा.धनन्जय रेग्मीको कार्यकाल गत माघ १६ देखि सकिएसँगै बोर्डको सिइओ पद खाली रहेकोमा प्रक्रियागतरुपमा कुनै विवाद उत्पन्न नभएको भए पर्यटन बोर्डमा नयाँ सिइओ नियुक्ति भएको अहिले ६ महिना भइसकेको हुने थियो । तर, सिइओ नियुक्तिमा स्वार्थ समूहहरुको चलखेल हावी हुँदा र नियमविपरित सिइओ छनौट उपसमिति गठन भएसँगै पर्यटन बोर्ड लामो समयदेखि नेतृत्वविहनि अवस्थामा रहेको छ ।

यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डको सिइओ छनौटका लागि उम्मेदवारहरुको आगामी सोमबार र मंगलबार कार्ययोजना प्रस्तुतीकरण हुने भएको छ । हाल सिइओ छान्न गठित उपसमितिमा रहेका सदस्यहरुबारेको विवादमा उच्च अदालत पाटनले सर्वोच्चमा सोही प्रकृतिको मुद्दा रहेको भन्दै मुद्दा खारेज गरिदिएपछि रोकिएको बोर्डको सिइओ छनोट प्रक्रिया फेरि सुचारु हुन लागेको छ । तर, बोर्डका जानकारहरुको भनाईलाई मान्ने हो भने बोर्डको सिइओ छनोटका लागि हालको उपसमितिले शैक्षिक योग्यता र कार्यनुभवका आधारमा भन्दै पहिले नै कसलाई नै सिइओ बनाउने भन्ने पहिले नै तय गरिसकेको छ । जसका लागि नियमविपरित सिइओ छनौट मापदण्ड नै परिवर्तन गरिएको स्रोतको दाबी छ ।

गैरकानूनी काम

नेपाल पर्यटन बोर्डमा जसरी पनि आफुले चाहेकै व्यक्ति नियुक्ति गर्न चाहने समूहले आफ्नो उद्देश्य पूर्ति गर्न सिइओ नियुक्तिसम्बन्धी कार्यविधि नै गैरकानूनीरुपमा परिवर्तन गरेको पाइएको छ । हाल सिइओ छनौटका लागि बनाइएको ‘नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी कार्यविधि–२०८०’ नै नियमविपरित र गैरकानूनीरुपमा बनाइएकोले त्यसबाट नियुक्त भएर आउने सिइओको नियुक्ति नै गैरकानूनी हुने अवस्था रहेको बोर्डका एक अधिकारीले बिजखबरलाई बताए ।

नेपाल पर्यटन बोर्डको कार्यविधि बनाउने अधिकार प्रचलित ऐनले नदिएको भएपनि ‘नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी कार्यविधि–२०८०’ निर्माण गरि ‘नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको नियुक्ति सिफरिससम्बन्धी मापदण्ड एंव कार्यविधि–२०७६’ मा रहेका विभिन्न मापदण्डलाई आफुखशी परिवर्तन गरिएको छ । नेपाल पर्यटन बोर्ड ऐनले कार्यविधि परिवर्तनको अधिकार बोर्डलाई नदिएको अवस्थामा कार्यविधि परिवर्तन गर्नुपरे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीले निर्णय गरि सो प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेर मन्त्रिपरिषदले स्वीकृत गरेमात्र वैधानिकरुपमा कार्यविधि परिवर्तन हुनसक्ने बोर्डका एक पूर्व सदस्यले बताए । यस्तै हालको छनौट उपसमिति गठन ३ महिनाका लागि मात्र भएकोमा हाल सो उपसमिति गठन भएको ५ महिना बढी भइसकेको अवस्थामा यसैपनि यो उपसमिति अवैध रहेको पनि उनले बताए । उनले अब बोर्डले नयाँ छनौट उपसमिति गठन गरेर सो उपसमितिले नयाा इिओ छनौट गर्नुपर्ने बताए ।

उनका अनुसार जसरी अहिले बोर्डले केही सदस्यको प्रभाव र बलमा कार्यविधि परिवर्तन गरेर नयाँ सिइओ नियुक्ति गर्न लागेको छ त्यसमा भोलि कानूनी प्रश्न खडा हुनेपनि उनले बताए । उनका अनुसार अहिले सिइओ नियुक्तिका लागि बनाइएको कार्यविधिमा स्वार्थ र व्यक्ति केन्द्रित हुनेगरि मापदण्ड परिवर्तन र अकंभार तय गरिएको छ । जसले बोर्डमा सिइओको लागि आवेदन दिएका प्रतिस्पर्धीहरुमध्ये पनि निवर्तमान सिइओ डा. धनञ्जय रेग्मीलाई फेरि सिइओ बनाउन चलखेल भएको स्पष्ट देखिने उनले दाबी गरे ।

अहिले सिइओ छनौट कार्यविधिमा शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्ययोजनामा पहलोको ५० अंकभारलाई घटाएर ३६ बनाइएको छ । कार्यअनुभव र तालिममा पहिले २० अंक रहेकोमा अहिले कार्यअनुभव मात्र राखेर ८ अंकभार बनाइएको छ । यस्तै अन्य बूँदाहरुमा पनि अंक परिवर्तन गरेर चलखेलको प्रयास भएको स्पष्ट देखिन्छ । त्यसमा पनि बोर्डलाई अधिकार नै नभएको कार्यविधि परिवर्तन गरेर सिइओ नियुक्ति गर्न खोज्नुमा दुराशय रहेको स्पष्ट देखिन्छ । ‘अहिले व्यवसायिक कार्ययोजना र अन्तवार्ता भनिएपनि को सिइओ बनाउने भनेर पहिले नै उपसमितिले ५० अंक सिल गरिसकेको छ, अबको प्रक्रिया औपचारिक हो भन्दा फरक पर्दैन’, बोर्ड स्रोतको दाबी छ ।

छनौट उपसमितिमै मिलेमतोको आशंका

फेरि बोर्डको सिइओ बन्नका लागि आवेदन दिएका बोर्डका निवर्तमान सिइओ डा. धनन्जय रेग्मीलाई बोर्डमा फर्काउन उनको कार्यकालमा उनको चाप्लुसीमा रहेर विदेश भ्रमणदेखि विभिन्न योजनाका नाममा बजेटमा रजाई गरेको बोर्डकै एक समूह अहिले भरमग्दूर प्रयास गरिरहेको छ । अर्कोतर्फ बोर्डका सदस्य रहेका मिलन देबकोटा र मदन आचार्यको चाहनापनि डा. रेग्मीलाई नै बोर्डमा सिइओ बनाएर फर्काउने देखिएको स्रोत बताउँछ ।

अहिले छनौट उपसमितिमा पनि देवकोटा र आचार्यकै हालिमुहाली रहेकाले डा. रेग्मीसँगको उनको कार्यकालको निकटता अहिलेको सिइओ छनौटमा पर्ने निश्चित रहेको स्रोत बताउँछ । विगतमा देबकोटा, आचार्य सहितका केही बोर्ड सदस्यले रेग्मीसँगको मिलेमतोमा बोर्डबाट विभिन्न नाममा आफुलाई फाइदा पुग्ने योजना बजेटमा समावेश गरेको र अब पनि बोर्डमा रेग्मी आए बोर्डमा हालीमुहाली गर्न पाइने भन्दै रेग्मीलाई बोर्डमा फर्काउन प्रयास भइरहेको स्रोतको भनाई छ ।

डा. रेग्मी भने अहिलेको विवादित कार्यविधिकै अनुसार पनि बोर्डमा सिइओका लागि योग्य उम्मेदवार नरहेको देखिन्छ । ‘नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी कार्यविधि–२०८०’ को बूँदा न ४ को च २ अनुसार उनी उम्मेदवार हुन नै अयोग्य पात्र हुन् । सो बूँदामा ‘बोर्डसँगको कारोबार, ठेक्कापट्टा वा बोर्डको कामसँग सम्बन्धित विषयमा निजी स्वार्थ नभएको’ उम्मेदवार हुनुपर्ने उल्लेख छ । तर, डा. रेग्मीले आफ्नो कार्यकालमा सिइओ पदको दुरुपयोग गर्दै बोर्डको बजेट विभिन्न निजी स्वार्थमा उपयोग गरेको पुष्टि भइसकेको छ ।

डा. रेग्मीकै स्वार्थमा आफ्नै निजी कार्यालयको एउटा सम्मेलनमा २० लाख रुपैयाँ दउनले दुरुपयोग गरेको पुष्टि भइसकेको छ । विस २०७९÷०८० को बजेट तथा कार्यक्रम शीर्षक ३.४.१.३ मा इन्टरनेसनल सस्टेनेवल माउन्टेन डेभलपमेन्ट कन्फेरेन्समा २० लाख रुपैंया बिनियोजित थियो । उक्त कार्यक्रमका बारे बजेटमा भएको प्रस्टीकरणमा पर्वतीय पर्यटनलाई प्राथमिकतामा राखी दिगो पर्वतीय विकास सम्बन्धि अन्तराष्ट्रिय विश्वविद्यालयहरु तथा अनुसन्धान संस्थासँगको सहकार्यमा सो कार्यक्रम आयोजनामा सहकार्य गर्ने लेखिएको थियो ।

कार्यक्रम २०७९ मंसिर १५ देखि १७ सम्म चन्द्रागिरी हिल्समा आयोजना भयो । जसको मुख्य आयोजक नै नेपाल पर्यटन बोर्ड थियो । कार्यकारी प्रमुख डा. रेग्मी बोर्डमा आबद्ध हुन अगाडि यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने गर्थे । चन्द्रागिरीको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेहरु लगायतका सबै ब्यक्तिहरु डा रेग्मीको संस्था हिमालयन रिसर्च सेन्टर र हिमालयन रिसर्च एक्सपिडिसन्सबाट विविध समयमा आयोजित कार्यक्रममा सहभागी भइसकेका, उनका ब्यवसायका साझेदार हैसियतका ब्यक्तिहरु थिए ।

तीमध्ये एक जसले मुख्य कार्यपत्र प्रस्तुत गरेका एल्टन बायर्सलाई उनको कम्पनीको साइटमा अन्तराष्ट्रिय वैज्ञानिकका रुपमा टिममै राखिएको थियो । बोर्डमा उनका यस्ता अनेक दुरुपयोगका प्रमाण रहेको कर्मचारी नै बताउँछन् । अर्कोतर्फ विगतमा डा रेग्मीसँगै स्वार्थका गतिविधिमा संलग्न भएकाहरुकै उपसमितिमा हालिमुहाली भएको अवस्थामा नयाँ सिइओ छनौट कसरी निष्पक्ष हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL