Logo

फिजीबाट पानी, चीनबाट जुस, अस्ट्रेलियाबाट मासु, नेपालबाट के-के आयात गर्छ अमेरिकाले ?

फिजीबाट पानी, चीनबाट जुस, अस्ट्रेलियाबाट मासु, नेपालबाट के-के आयात गर्छ अमेरिकाले ?



काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । प्रतिस्पर्धाको हिसाबले हेर्ने हो भने अन्य देशको अर्थतन्त्र अमेरिकी अर्थतन्त्रभन्दा धेरै पछि छन् । अमेरिकाको प्रायः सबै देशसँग व्यापारिक सम्बन्ध छ । विश्वका हरेक साना–ठूला देश अमेरिकासँगको व्यापार बढाउन चाहन्छन् । यसको कारण अमेरिकाको बजार निकै ठूलो छ ।

अमेरिकी बजारमा शिवका धेरै देशबाट विभिन्न वस्तुहरू आयात हुन्छन् । अमेरिकाले फिजीबाट सबैभन्दा बढी पानी आयात गर्छ । यसले छिमेकी मुलुक क्यानडा र मेक्सिकोबाट अधिकांश खाद्यवस्तु आयात गर्छ । चीन धेरै वर्षसम्म यसको सबैभन्दा ठूलो व्यापार साझेदार थियो । तर, पछिल्ला केही वर्षयता दुई देशबीचको सम्बन्ध चिसिएको छ । यहाँ हामी तपाईलाई अमेरिकाले कुन देशबाट कुन खाद्य पदार्थ आयात गर्छ भन्ने जानकारी दिदैछौं ।

अमेरिकाले छिमेकी देश क्यानडाबाट च्याउ, मासु, सुँगुर, माछा, लब्स्टर, क्र्याब्स, क्यानोला तेल, गहुँ, मकै, जई, जौ र म्यापल सिरप आयात गर्छ । त्यस्तै टमाटर, एभोकाडो, क्याप्सिकम, क्रेनबेरी, स्ट्रबेरी, रास्पबेरी, काकडी, ब्रोकाउली, तरबूज, आँप, शतावरी, कागती, प्याज, पालक, सलाद, अखरोट र चिनी सबैभन्दा बढी मेक्सिकोबाट आयात हुने गरेको छ । अमेरिकामा अधिकांश भेडाको मासु अष्ट्रेलियाबाट आउँछ भने सुन्तलाको जुस ब्राजिलबाट आयात गरिन्छ । अधिकांश स्याउको जुस र फ्रोजन माछा चीनबाट आउँछन् । अंगूर र कुखुरा चिलीबाट आयात गरिन्छ भने कच्चा कफी कोलम्बियाबाट आउँछ ।

त्यस्तै, कोस्टारिका अमेरिकामा भूँइकटहरको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो भने कफी बिन्स आइभोरी कोस्टबाट आउँछ । केरा र तरबूज ग्वाटेमालाबाट आउँछन् भने इन्डोनेसियाले पाम तेल र कोकोआ बटर निर्यात गर्छ । अमेरिकालाई मक्खन आपूर्तिमा आयरल्याण्ड सबैभन्दा अगाडि छ भने जैतुनको तेल, नुनयुक्त सुँगुरको मासु र चीज इटालीबाट आउँछ । अमेरिकामा आपूर्ति हुने अधिकांश दूध न्युजिल्यान्डबाट आउँछ ।

त्यस्तै, कोको पाउडर नेदरल्याण्ड्सबाट आउँछ । स्पेन परिष्कृत जैतूनको तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो, रोस्टेड कफी स्विट्जरल्याण्डबाट आउँछ, चामल थाइल्याण्डबाट आउँछ र भियतनाम कालो मरिच र काजूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । अमेरिकाले भारतबाट सबैभन्दा बढी लबस्टर आयात गर्छ । सरकारी तथ्यांकअनुसार अमेरिकाले २०२३–२४ मा भारतबाट २,९७,५७१ मेट्रिक टन फ्रिज गरिएको झींगा आयात गरेको थियो ।

नेपालबाट के–के आयात गर्छ अमेरिकाले ?

नेपालको दातृराष्ट्रका रुपमा रहेको अमेरिकासँग नेपालको पनि व्यापार हुने गरेको छ । नेपालले चालु आर्थिक बर्षको साउनमा तेस्रो मुलुक मानिने अमेरिकासँग मात्रै १ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको छ । साउनमा अमेरिकासँग गरिएको निर्यात व्यापारमा सबैभन्दा बढी हिस्सा भने गलैँचाको रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार गएको साउनमा नेपालबाट अमेरिकामा ७८ करोड ८४ लाख रुपैयाँ बराबरको २४ हजार ३ सय वर्गमिटर गलैँचा निर्यात भएको देखिन्छ । यस्तै यसै अवधिमा २३ करोड २२ लाख रुपैयाँ बराबरको फेल्ट आइटम, १७ करोड ३५ लाख बराबरको छुर्पी, ९ करोड ३० लाख रुपेयाँ बराबरका कपासका लेडिज पोशाकहरु र ५ करोड ५४ लाख रुपैयाँ बराबरको पश्मिना सलहरु निर्यात भएको देखिएको छ ।

खासगरी नेपालले अमेरिकालाई भारत र चीनपछिको तेस्रो वैदेशिक व्यापार गर्ने राष्ट्र रुपमा लिन्छ । जसका कारण साउनमा मात्रै अमेरिकामा नेपालबाट १ सय ५८ प्रकारका वस्तुहरु निर्यात भएको देखिन्छ । जसमा जर्सी, ट्वाइलेट र किचेनमा प्रयोग गरिने सिसा र सेरामिक्सका वस्तुहरु, उन, नेपाली कागज, अचार, सुनचाँदीका गरगहना, यार्सागुम्बा, च्युरा, ग्रिन टी, बीयर, पास्ता, सोयाबिन, टोपी, सोया ससलगायतका वस्तुहरु निर्यात भएको देखिन्छ ।

यता आयाततर्फ भने साउनमा अमेरिकाबाट नेपालले ४ सय ७२ प्रकारका वस्तुहरु १ अर्ब ८९ करोड रुपैयाँ बराबरको खरिद गरेको देखिन्छ । यसमध्ये नेपालले सबैभन्दा बढी भटमास, पीना, धागो, चामल, कोइलालगायतका वस्तुहरु आयात गरेको देखिन्छ । साउनमा नेपालले अमेरिकाबाट ४३ करोड बराबरको भटमास, २२ करोड ९२ लाख बराबरको पीना, ११ करोड ६७ लाख बराबरको धागो र ११ करोड १० लाख बराबरको चामल आयात गरेको देखिन्छ । नेपालले अमेरिकाबाट खासगरी कम्प्युटर, क्यामरा, विद्युतीय सामग्री, मेडिकल सामग्रीलगायत आयात गर्ने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL