Logo

प्रधानमन्त्रीले भने, ‘प्रकाश तामाङले २–४ दिनमै नागरिकता पाउँछन्, अरु सहयोग पनि हुन्छ’

प्रधानमन्त्रीले भने, ‘प्रकाश तामाङले २–४ दिनमै नागरिकता पाउँछन्, अरु सहयोग पनि हुन्छ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङ (काले मोक्तान) लाई चाँडो नागरिकता दिलाउन पहल गरेका छन् । प्रकाशलाई तत्काल नागरिकताको आवश्यकता रहेकाले त्यसका लागि पहल गरिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले मंगलबार राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख गरेका छन् ।

हेर्ने कथाका विद्या चापागाईं र स्वयम प्रकाशसँग कुराकानी गरे पनि प्रकाशलाई तत्कालका लागि नागरिकता आवश्यक देखिएको र त्यसका लागि पहल भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । उनले प्रकाशलाई २–४ दिनभित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था गृह सचिवले मिलाएको र यो कुरा प्रकाशलाई पनि जानकारी गराइएको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरें, उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन, पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो, प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो, नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ, नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो, उहाँले प्रकाशलाई दुई–चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ, नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL