Logo

बेनी-जोमसोम-कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

बेनी-जोमसोम-कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम



काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।

स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले गत वर्षदेखि सृजना भएको सिरुबारीको पहिरोले दुःख दिइरहेको बताए । “करिब एक किलोमिटरमाथिको पाखो बगेको छ”, उनले भने, “खसेको पहिरो पन्छाउँदै सावधानी अपनाएर यातायात सञ्चालन गरिएको छ ।” आकाशबाट पानी पर्नेबित्तिकै पाखोबाट ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खसेर सडकमा थुप्रिन्छ । हिलोमा सवारीसाधन फस्ने, गुडिरहेका सवारीमाथि ढुङ्गा खस्ने, यात्रीलाई चोटपटक लाग्ने जोखिम छ ।

यही भदौ ४ गते पोखराबाट बेनी हुँदै जोमसोमतर्फ जाँदै गरेको ग१ख ७७१७ नम्बरको बस सिरुबारीको पहिरोमा गुडिरहेको अवस्थामा ठुलो ढुङ्गा खसेर च्यापिदा दुईजना यात्रा घाइते भएका थिए । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन र जङ्गल नष्ट भएको छ ।

सवारी चालक तम परियारले त्रासैत्रासमा गाडीलाई पहिरो पार गर्नुपर्ने बाध्यता रहेको बताए । सिरुबारी क्षेत्रमा करिब पाँच सय मिटर सडक पहिरोले छियाछिया बनाएको छ । मुस्ताङ जिल्ला, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई पहिरोका कारण जोखिम र सास्ती भएको छ ।

सिरुबारी, महभिर, बैसरी, गुइँठेभिरलगायत ठाउँमा पहिरोको उच्च जोखिम भएकाले रातको समयमा यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अपिल गरेका छन् । ती ठाउँमा खस्ने पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सडक विभागको डोजर, लोडर, ब्याकुहोलोडर तयारी अवस्थामा राखिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए ।

पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा दीर्घकालीन समाधानका लागि अध्ययन गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना माग गरिएको उनले बताए । योजना र बजेटको अभावमा पहिरो रोकथामका लागि दीर्घकालीन काम गर्न नसकेको झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL