Logo

यसकारण घट्यो नेप्से, बजारमा ११२ अंकले गिरावट आउँदा १८ अर्ब ६४ करोडको कारोबार

यसकारण घट्यो नेप्से, बजारमा ११२ अंकले गिरावट आउँदा १८ अर्ब ६४ करोडको कारोबार



काठमाडौं । लामो समयपछि ३ हजार अंक छोएको नेप्से परिसुचक २७ सय अंकमा झरेको छ । पछिल्लो २ महिनामा ८ सयभन्दा बढी अंकले बढेको नेप्से परिसुचक पछिल्लो १ हप्तामा २ सयभन्दा बढी अंकले घट्न पुगेको हो ।

नेप्से परिसुचक उच्च अंकले बढ्दा बजारमा दैनिक ३० अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । पछिल्लो समय बजार बढ्दा दैनिक १८/२० अर्ब रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएपनि पछिल्ला केही दिन दैनिक ३० अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको थियो । बढ्दो बजारमा ब्रोकर कम्पनीले उधारोमा खरिद गर्न लिमिट दिएका कारण बजारमा उच्च सेयर खरिदबिक्री भएको थियो ।

‘बढ्दो बजारमा ब्रोकरले लिमिट दिए भने लगानीकर्ताले पनि खातामा आउने वित्तिकै बिक्री गर्ने भन्दै उधारोमा उच्च सेयर खरिद गरे,’ एक लगानीकर्ताले भने, ‘ब्रोकरले पहिला नै उधारो सेयर खरिदका लागि बढी लिमिट दिएका कारण पछि लिमिटमा कडाई गरे भने उधारोका खरिद गरेका सेयर बिक्रीका लागि दबाब सिर्जना भयो ।’ साथै लगानीकर्ताले उधारोमा सेयर खरिद गरेको र खातामा सेयर आउँदा पनि लगानी गर्न नसकेका कारण ब्रोकरले बिक्रीका लागि प्रेसर दिँदा बजारमा उच्च गिरावट आएको समेत ती लगानीकर्ताले जानकारी दिए ।

नेप्सेमा उच्च कारोबार भएको केही दिनदेखि नै बजारमा गिरावट आउन थालेको देखिन्छ । उक्त समयमा बजार बढ्ने आसमा लगानीकर्ताले उधारोमै भएपनि सेयर खरिद गरेको तर खातामा आउँदा समेत बजार नबढेपछि लगानीकर्ताले उधारोको प्रेसर थेग्न नसकेर बिक्री गरेर बाहिरिएका सम्बद्ध ब्रोकरहरु बताउँछन् ।

‘अघिल्लो हप्तासम्म बिक्रीको तुलानामा खरिदचाप उच्च हुँदा अहिले ब्रोकरलाई भुक्तानीमा समस्या भैरहेको छ,’ ती ब्रोकरले भने, ‘अहिले ब्रोकरले साफसाफ मिलाउनका लागि लगानीकर्ताको उधारो लिमिट रोकेर उधारोमा खरिद गरेका सेयर बिक्रीका लागि प्रेसर दिँदा बजारमा गिरावट आएको हो ।’ तर अहिले उक्त हिसाब मिलानको अवस्थामा आएको र ब्रोकरले लिमिट दिन सुरु गर्ने वित्तिकै बजारले पुन उकालो यात्रा तय गर्ने समेत ती ब्रोकरले जानकारी दिए ।

धेरैजसो लगानीकर्ताहरु नेप्से परिसुचक २२ सय अंकबाट बढ्न सुरु गरेसँगै २६ सय अंक पुगेर कसेक्सन आउने आसमा बसेका थिए । सोही बीचमा धेरैजसो लगानीकर्ताहरु २४/२५ सयको आसपासमा सेयर बिक्री गरेर बजारबाट बाहिरिएका थिए । तर उनीहरुले २६ सयबाट बजार करेक्सन आउने आसमा बस्दाबस्दै नेप्सेले ३ हजार अंक छुन पुग्यो । अहिले ती लगानीकर्ताहरु बजार घटाएर प्रवेश गर्ने दाउँमा बसेको र पछिल्लो समय उधारोमा बढी सेयर कारोबार भएका कारणले गर्दा पनि बजारमा सेलिङ प्रेसर आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘अहिले जुन रुपमा बजार घटेको छ अब पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ताहरु पनि बजार प्रवेश गर्ने समय आएको छ,’ ती लगानीकर्ताले भने, ‘राष्ट्र बैंकको मौद्रिक नीतिपश्चात संस्थागत लगानीकर्ताहरु कर्जा लिएर बजार प्रवेशको क्रममा रहेको पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु पनि प्रवेश गर्ने अवस्था आएकाले अब बजार चाडै नै सकारात्मक लयमा फर्कन्छ ।’

पछिल्लो केही दिनयता लगातार ओरालो यात्रा तय गरेको नेप्सेमा मंगलबार १११.९६ अंकको गिरावट आएको छ । जसमा होटल बाहेक सबै उपसुमहहरुमा उच्च गिरावट आएको छ । तर तेहोरो अंकले घटेको बजारमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरले भने सकारात्मक सर्किट हानेको छ । मंगलबार २६३ कम्पनीका लगानीकर्ताले गुमाउन पुगेका छन् भने ५६ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । मंगलबार दिनभर ३२० कम्पनीको ४ करोड ३८ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL