Logo

डा. मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित, यस्तो छ ढकालको प्रतिक्रिया

डा. मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित, यस्तो छ ढकालको प्रतिक्रिया



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशित गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको हो ।

रास्वपाले यसअघि ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाएको थियो । रास्वपाले ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो । उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

मुकुल ढकाल भन्छन्–म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन

डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिँदै उनले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफूलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लगाएका छन् । मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL