Logo

नाडा अटो शो उद्घाटन गर्दै उद्योगी व्यवासायीलाई अर्थमन्त्रीको आश्वासन-‘समस्यामा सहजीकरण गर्न सरकार तयार छ’

नाडा अटो शो उद्घाटन गर्दै उद्योगी व्यवासायीलाई अर्थमन्त्रीको आश्वासन-‘समस्यामा सहजीकरण गर्न सरकार तयार छ’



काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्योगी व्यवसायीलाई कसैले दूःख दिन खोजेमात्रै पनि आफुलाई भन्न आग्रह गरेका छन् । मंगलबार नाडा अटोमोबाइल एसोसिएसनले आयोजना गरेको १६ औं संस्करणको नाडा अटो शो को उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘निजी क्षेत्रलाई सरल, सहज र वैधानिक तवरले व्यापार व्यवसाय गर्नका लागि सहजीकरण गर्न सरकार सँधै लागिपरेको छ,’ उनले भने, ‘त्यसमा पनि कसैले निजी क्षेत्रलाई दूःख दिन खोजेको अवस्थामा मन्त्रालयमा जानकारी गराउनु वा सरकारलाई जानकारी गराउनु ।’

निजी क्षेत्रलाई उद्योग व्यवसाय संचालका लागि सरकारले भरपुर सहयोग गर्ने बताउँदै उनले देशको अर्थतन्त्रलाई अगाडी बढाउन निर्धक्क भएर काम गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले हाल धेरैजसो वस्तुको व्यापार बढिरहेको बताउँदै अब व्यापारीहरुले उद्योगीमा रुपान्तरण हुनका लागि आवश्यक सहयोग पनि गर्ने बताए ।

एक प्रसङ्गमा बोल्दै उनले आफुलाई काम गर्नभन्दा बढी भाषण दिनका लागि समय चाहिने बताउँदै अब उद्योगी व्यवासायीले आफुलाई भाषण गर्ने कार्यक्रममा बोलाउनुको सट्टा काम गर्नमा प्रेरित गर्न आग्रह गरेका छन् ।

उनले चालु आर्थिक बर्षको मौद्रिक नीतिले पनि अर्थतन्त्र चलायमान बनाउनका लागि नै धेरैभन्दा धेरै बुँदाहरुमार्फत सम्बोधन गरेको बताए ।

उद्घाटन सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अटो क्षेत्रलाई सरकारले विलासिताको नजरले मात्रै नहेरेर अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण वस्तुको रुपमा हेरिदिन आग्रह गरेका छन् । ‘पछिल्लो समय सरकारले यो क्षेत्रलाई विलासिताको वस्तु भन्दै सोही अनुसारको उच्च कर थोपर्ने गरेको छ,’ उनले भने, ‘यो विलासिताको वस्तु मात्रै नभई अर्थतन्त्रका हरेक आयामहरुमा सहयोग गर्ने वस्तुपनि हो ।’ उनले अटो क्षेत्रले लाखौंलाई रोजगारी दिएको र राजस्व आम्दानीमा पनि धेरैभन्दा धेरै योगदान गरेको बताए ।

यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले अर्थतन्त्र अझै समस्यामा रहेकाले सरकारले अर्थतन्त्र चलायमान बनाउन अझै जोडबल गर्नुपर्ने बताए । पछिल्लो समय सेयर बजारमा बढेको कारोबारले उद्योगी व्यवसायीमा पनि केहि आशा जगाएपनि बैंकको ऋण सहजीकरणमा अझै जोड दिए अर्थतन्त्र चलायमान हुन सहज हुने उनको भनाई थियो । उनले नेपालको अटो बजारलाई बेलाबेलामा परिवर्तन हुने नीतिले सबैभन्दा अप्ठ्यारो पारेको बताउँदै नीतिगत स्थिरतालाई बढीभन्दा बढी जोड दिनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले सवारीमा लगाएको अधिक करका दरहरु हटाउनुपर्ने बताए । सवारीमा लागू गरिएको अधिक करकै कारण यसको आयातमा कमी आई राजस्व आम्दानीमा संकुचन देखिएको बताउँदै उनले करको दरभन्दा दायरा बढाईनुपर्ने बताए ।

नाडा अटो शोको उद्घाटन शत्रमा नाडाका अध्यक्ष करण कुमार चौधरीले सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाईदिनुपर्ने, भन्सारमा कडाई गरी अवैध आयातलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने र युवाहरुलाई देशमै केहि गर्न सकिन्छ भन्ने भरोसा दिनुपर्ने कुरालाई जोड दिए ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सोमा १ सय ३० स्टलहरुमा चारपांग्रे, दुई पांग्रे सवारीसाधन र पार्ट्सहरुको प्रदर्शनी भईरहेको छ । जसमा २४ स्टल चारपांग्रे सवारीसाधनका , १९ दुई पांग्रे सवारीसाधनका र अन्य पार्ट्स, बैंकलगायतका स्टलहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्