Logo

नाडा अटो शो-२०२४ शुरु : आकर्षणमा विद्युतीय सवारी, सहज फाइनान्सिङका लागि बैंकहरुको उपस्थिति

नाडा अटो शो-२०२४ शुरु : आकर्षणमा विद्युतीय सवारी, सहज फाइनान्सिङका लागि बैंकहरुको उपस्थिति



काठमाडौं । नाडा अटो शो-२०२४ आजबाट शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १६ औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका हुन् । । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने सवारी साधानहरुको उक्त मेला ६ दिनसम्म चल्नेछ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ ।अटो शोमा ९५ वटा प्रदर्शक सहभागी हुने छन् । आयोजकका अनुसार यसका लागि १३० वटा स्टलको व्यवस्था गरिएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।

प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पांग्रे, १० ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने ‘नाडा अटो शो’ समितिका संयोजक अनुपकुमार बरालले बताए ।

नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

यसवर्ष पनि नाडाले विद्युतीय सवारी साधनमा जोड दिएको छ । यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ । नाडाका अनुसार यस वर्ष करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्।

यस वर्षको नाडा अटो शोमा बिवाईडीको एम–सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ । गत वर्षको नाडा आटो शोमा पनि विद्युतीय सवारीले वर्चस्व राखेको थियो । नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL