Logo

भिजी मोटर्सले नेपालको सडक सुहाउँदो विद्युतीय सवारी उपलब्ध गराउँछ : सीईओ विवेक विजुक्छेको अन्तर्वार्ता

भिजी मोटर्सले नेपालको सडक सुहाउँदो विद्युतीय सवारी उपलब्ध गराउँछ : सीईओ विवेक विजुक्छेको अन्तर्वार्ता



भिजी मोटर्सले भित्र्याएका विद्युतीय गाडीहरु नेपाल सुहाउँदो छन् ?

नेपालको भौगोलिक अवस्थाका कारण यहाँका धेरैजसो सडकहरु कच्ची अर्थात उबडखाबड छन् । यस्ता सडकहरुमा खासगरी गाडीको ग्राउन्ड क्लियरेन्सले मुख्य भूमिका खेल्छ । सामान्यतया धेरैजसो गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ८० देखि २ सय एमएमसम्मको हुन्छ । हामीले भित्र्याएका सबैजसो गाडीहरुको ग्राउन्ड क्लियरेन्स २ सय एमएममाथि नै छ । यस्तो भएको अवस्थामा उबडखाबड सडकमा पनि गाडीको च्यासिस तथा बढी ठोक्किने चान्स ज्यादै न्यून हुन्छ ।

चीनबाट आउने धेरैजसो गाडीहरु चिनियाँ सडकका लागि बनेका हुन्छन् । अर्थात चीनका धेरैजसो सडकहरु पक्की छन् । नेपालका सबै सडकहरुमध्ये ८० प्रतिशत सडकहरु कच्ची छन् । त्यसैले चीनबाट भित्रिएका गाडीहरुमा सस्पेन्सनको समस्या भने केहीरुपमा निम्तिएला । हाम्रो बाटोहरु खराब भएकै कारण सस्पेन्सनको लाइफ भने कम हुन्छ । प्रविधिको कुरा गर्दा इन्धन गाडीको तुलनामा विद्युतीय गाडीको आयुसँगै इन्धन चोरी हुने, पार्टपुर्जा चोरी हुने समस्या हुँदैन । त्यसैमाथि इन्धन गाडीहरु कम्तिमा पनि ४ देखि ६ सय पार्टपुर्जा मिलेर बनेका हुन्छन् भने विद्युतीय गाडीहरु जम्मा २२ देखि ३० पार्टपुर्जाहरु मात्रै मिलेर बनेको हुन्छ । त्यसैले विद्युतीय गाडीहरुको आयुसँगै ड्यामेज हुने सम्भावना पनि न्यून नै हुन्छ ।

त्यसैले यी गाडीहरु नेपाली बजारका लागि उपयुक्त छन् । तर, यो क्षेत्रमा एउटै मात्रै समस्या भने यसका प्रशिक्षित कामदारहरु बजारमा ज्यादै न्यून भेटिन्छन । हुन त सबैजसो बस्तु तथा सेवामा पूर्णता हुँदैन् । हामीकहाँ पहिल्यैदेखि डिजेल–पेट्रोलवाला सवारीसाधन चलिरहेकाले त्यस्ता प्राविधिकहरु धेरै भेटिन्छन । विद्युतीय सवारीसाधनहरु बजारमा भर्खरै फैलिँदै गएकाले यसका प्राविधिकहरु सम्बन्धित सप्लायर्सकहाँ नै पाउन गाह्रो छ । तर, विस्तारै यस क्षेत्रमा पनि प्राविधिकहरु बढ्दैछन् ।

विद्युतीय सवारीसाधनका विक्रिमा कस्ता चुनौती छन् ?

खासगरी विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्नका लागि सरकारले कुनै सहजीकरण नगरिदिएको अवस्था छ । विदेशका धेरैजसो देशहरुमा विद्युतीय गाडीलाई प्रोत्साहन गर्नकै लागि अनुदानको व्यवस्था गरिएको पाइन्छ । तर, नेपालमा विद्युतीय गाडीमै सरकारले कर थोपरेको छ । सरकारले हरेक विद्युतीय सवारीसाधनमा आधाजति अनुदान दिनुपर्छ । त्यसैमाथि विद्युतीय सवारीसाधनको राम्रो विस्तारका लागि धेरैभन्दा धेरै चार्जिङ स्टेशन आवश्यक पर्दछन् । यस्ता चार्जिङ स्टेशन निर्माण गर्नका लागि काठमाडौंमै पर्याप्त जग्गा तथा ठाउँ छैनन् । सरकारले खाली जग्गा भएका स्थानहरुमा सुपर चार्जिङ स्टेशन निर्माण गरिदिनुपर्छ । कि निजी क्षेत्रलाई यस्ता चार्जिङ स्टेशन स्थापना गर्नका लागि जग्गाको व्यवस्था गरिदिनुपर्छ ।

अहिले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । अझै नेपाली उपभोक्ताहरुलाई इभीमा डाइभर्ट गर्न के गर्नुपर्छ ?

हाल नेपालमा आयात हुने प्यासेन्जर भेहिकलहरुमध्ये ७० प्रतिशत इभी सवारीसाधनहरु आयात भएको आँकडामा देखिन्छ । यता कमर्शियल भेहिकलको अवस्था पनि त्यस्तै छ । ९० प्रतिशत बढी उपभोक्ताहरु अहिले इभीतिर लम्किइरहनुभएको छ । सरकारले इभीको विस्तारका लागि उपयुक्त आवश्यक पूर्वाधार निर्माण र प्रोत्साहनमात्र गर्न सके नेपालमा विद्युतीय सवारीको विस्तार उल्लेखनीय हुने देखिन्छ ।

आगामी दिनमा कस्ता प्रकारका विद्युतीय सवारी भित्र्याउने योजना बनाउनुभएको छ ?

हाल विशाल ग्रुपले अन्य कम्पनीहरुका प्यासेन्जर भेहिकल विक्री गर्दै आएको छ । हामीले नाडा अटो शो मै पनि एक चिनियाँ कम्पनीको प्यासेन्जर भेहिकल सार्वजनिक गर्ने योजना बनाएका छौं । इलेक्ट्रो भन्ने कम्पनीको एफ १० गाडी हामीले भित्र्याएका पनि छौं । हाल यो गाडी हामीले टेस्ट गरिरहेका पनि छौं । प्यासेन्जर गाडीमा हामीले खासगरी सर्वसाधारणले पनि चढ्न सकुन भनेर सस्ता गाडीहरु ल्याउने योजना बनाएका छौं ।

हामीले यस्ता गाडीहरु भित्र्याउनका लागि ३ ओटा ब्राण्डसँग कुरा भइसकेको छ । ठूला र महंगा गाडीहरुको मार्केट सीमित छ । अर्थात ४० लाख माथिका गाडीहरु निश्चित वर्गले मात्रै खरिद गर्दछन् । तर, हामीले सर्बसाधारणले पनि खरिर गर्न सक्ने गरी सस्ता मोडलका प्यासेन्जर गाडी भित्र्याउने योजनाअनुरुप काम गरिरहेका छौं । अहिले सर्वसाधारणको आवश्यकता नै २५ लाख मुनिको गाडी हो । सस्तो बलियो र किफायती विद्युतीय गाडीहरु नेपालमा ल्याउन सकियो भने नेपाली बजारलाई उपयुक्त होला ।

भविष्यमा नेपालमै एसेम्बल प्लान्ट स्थापना गर्नेबारे केहि सोच्नुभएको छ ?

नेपालमा सरकार र श्रमिकहरुको मानसिकताका कारण अझै १० बर्ष कसैले पनि ठूला उद्योगमा लगानी गर्लान जस्तो मलाई लाग्दैन । सरकारले हरेक बर्ष नीतिहरु परिवर्तन गरिदिन्छ । स्थानीय बासिन्दाहरुले पनि आफ्नो पेरिफेरीमा कुनै उद्योग खुल्दैछ भन्ने जानकारी पाएपछि अनावश्यक फाईदा लिन खोज्छन् । यस्तो मानसिकता परिवतर्न नभएसम्म ठुला खालका उद्योगमा लगानी गरेर काम छैन ।

यस्तै विद्युतीय सवारीसाधनको एसेम्बलिङ गर्ने प्रविधि धेरैभन्दा धेरै एडभान्स र महंगो प्रविधि हो । त्यो प्रविधिमा लगानी गरिसकेपछि कुनैपनि लगानीकर्ताले त्यसको रिटर्नको सम्भावना हेर्छ नै । यदि लगानीकर्ताले लगानी गरेर उत्पादन थाल्यो भनेपनि नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले हाम्रो ढुवानी खर्चका कारण उत्पादन खर्च अत्याधिक हुन आउँछ । यसो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था छ ।

कुनैपनि उद्योग संचालन गर्नुपूर्व स्वदेशमै उत्पादन हुने मिनिमम अर्डर क्वाटिन्टी अर्थात स्वदेशभित्रै न्यूनतम माग हुनुपर्छ । नेपालका हाल मिनिमम अर्डर क्वान्टीटी भनेको ८० हजार हो । अर्थात फ्याक्ट्री स्थापना गर्नुपूर्व कम्तिमा ८० हजार गाडी विक्री हुने सुनिश्चितता भए मात्रै एसेम्बल प्लान्ट स्थापना गर्न उपयुक्त हुन्छ । नत्र फाईदा हुने देखिँदैन । कुनै पनि फ्याक्ट्री स्थापना गर्न कम्तिमा डेढ सय अर्ब लगानी चाहिन्छ । त्यसको व्याज, लागत कट्टालगायत हिसाव गर्दा त्यो लगानी उठ्छ कि उठ्दैन ख्याल गर्नुपर्छ ।

आगामी ५ बर्षमा अझै इभीको माग वृद्धि गर्न सरकार र निजी क्षेत्रले के गर्न सक्छन् ?

सरकारले त केहि नगरी चुप्प लागेर बसिदिए मात्रै पनि पुग्थ्यो । हाल सरकारले हरेकबर्षजसो नीतिहरु परिवर्तन गर्ने गरेको छ । यसले उद्योगी व्यवसायीलाई प्रत्येक बर्ष अघिल्लो बर्षभन्दा बढी निरुत्साहित बनाउँछ । सरकार परिवर्तन हुनासाथ नेपालमा निती परिवर्तन भइहाल्छ । संसारकै सबैभन्दा बढी नीति परिवर्तन नै नेपालमा हुने गरेको देखिन्छ । यस्तै निजी क्षेत्रले पनि कुनैपनि सवारीसाधन विक्री गर्दा त्यसको स्पेयर पार्ट्सको पनि सुनिश्चिता गरिदिनुपर्छ ।

त्यस्तै उपभोक्ताले पनि कुनै कम्पनीको गाडी किन्दा लङ टर्म सर्भिस दिन्छु भनेर ग्यारेन्टी नगरेसम्म त्यसको गाडी किन्नु हुँदैन । आगामी ५ बर्षसम्म विद्युतीय सवारीसाधनका सरोकारवालाहरुले यसको भरपर्दाे र दिगो प्रणाली विकास गर्दा भरपुर सुविधा उपयोग गरेको खण्डमा यसको विस्तारलाई अझै तीव्र बनाउन सकिएला । सबैभन्दा ठुलो कुरा त उपभोक्ताको विश्वास जित्नुपर्छ । जसका लागि गाडी उत्पादक, विक्रेता, सप्लायर्स तथा सरकारले आवश्यक कदमहरु बेलाबेलामा चालिराख्नुपर्छ ।

भिजी मोटर्सको बारेमा केहि बताइदिनुस न ?

सबैभन्दा पहिले पूजा कन्सट्रक्सन प्रालिको नाममा कमर्शियल गाडीहरु सप्लाई हुने गरेको थियो । बैंकहरुले कर्जामा ठूलो सहयोग गरेपछि हामीले धेरै गाडीहरु बेचेका पनि थियौं । पुनः बैंकहरु लगानी गर्न उत्साहित हुनुभएको पाइएको छ । जसका कारण हामीले नयाँ कम्पनी अर्थात भिजी मोटर्सबाट कारोबार सुरु गरेका हौ । अब सबैजसो कमर्सियल गाडीहरुको व्यापार नै यसैबाट हुनेछ । हामीले यसैअनुरुप सोमबार पहिलोपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ७ मोडलका गाडीहरु सार्वजनिक पनि गरिसकेका छौं ।

प्रतिक्रिया दिनुहोस्