Logo

चितवनमा २३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेङ्गी सङ्क्रमण

चितवनमा २३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेङ्गी सङ्क्रमण



काठमाडौं । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन्भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, “सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई सङ्क्रमणको जोखिम रहन्छ ।”

साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा आठजनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये दुई सय २५ महिला र एक सय ९२ जना पुरुष छन् ।

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेङ्गी रोग देखिने गरेको केसीले बताए । उनले भने, “अहिले साउनको सुरुआतदेखि सङ्क्रमण देखिन थालेको छ ।”

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए । यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL