काठमाडौं । नागढुंगा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ । गत बर्ष साउनमा सहायक सुरुङ र बैशाखमा मुख्य सुरुङमार्ग नै वारपार भइसकेको उक्त आयोजनामा हालसम्म फ्लाई ओभरको र कंक्रिट लाइनिङको केहि कामबाहेक सबै काम सम्पन्न भएको हो ।
नागढुंगा–नौविसे सुरुङमार्ग आयोजनाका अनुसार दुबै सुरुङमार्गको कुल लम्बाई ५ हजार ४ सय ९९ मिटर खनिसकिएर सहायक सुरुङमार्गकको कंक्रिट लाइनिङसमेत सम्पन्न भइसकेको छ । हाल मुख्य सुरुङमार्गको २ हजार २ सय ८१ मिटर अर्थात कुल लम्बाईको ८४.८५ हिस्सा खण्डमा कंक्रिट लाइनिङको काम सम्पन्न भईसकेको छ । बाँकी करिव ४ सय मिटरमा मात्रै कंक्रिट लाइनिङको काम बाँकी रहेको देखिन्छ ।
आयोजनाले सुरुङमा मात्रै मुख्य र सहायक गरी दुई सुरुङ, वर्किङ अडिट र क्रस प्यासेज निर्माण गर्नुपर्ने थियो । ती सबै काम सकिसकेको छ । अझ पृथ्वी राजमार्गलाई सुरुङसम्म जोड्नका लागि आवश्यक ३ ओटा अन्डरपास, ४ ओटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ ओटा पुल निर्माण गर्नुपर्ने थियो । यी सबैको काम पनि सम्पन्न भईसकेको आयोजना प्रमुख नविनमान श्रेष्ठ बताउँछन् । उनका अनुसार हालसम्म करिव काम अन्तिम चरणमा पुगेपनि मुख्य राजमार्गलाई सुरुङसम्म जोड्नका लागि काठमाडौंतर्फ निर्माण भईरहेको फ्लाईओभरमा भने केहि समस्या कायमै छ । ‘हालसम्म फ्लाईओभरको पनि आवश्यक भएकोमध्ये ९५ प्रतिशत जग्गा प्राप्त भई ५ सब स्ट्रक्चर सम्पन्न भईसकेको छ,’ उनले भने, ‘तर, केहि जग्गाधनीले जग्गाको मुआब्जामा लफडा झिकिदिँदा फ्लाईओभरको कामममै बाधा उत्पन्न हुने सम्भावना देखिन्छ ।’
यद्यपी ५ सबस्ट्रक्चर निर्माण भईसकेका स्थानमा फ्लाईओभरको सुपरस्ट्रक्चरको काम हाल धमाधम भइरहेको छ । कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय स्वीच थिचेर गत बैशाख ३ मा ब्रेकथ्रु गरेका थिए । सहायक र मुख्य सुरुङमार्ग छेडिएपनि यो पूर्ण रुपमा निर्माण भई संचालनमा आउन भने अझै केहि समय लाग्ने बताईएको थियो ।
सरकारले जाइकासँग १६ अर्ब रुपैयाँ ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भए पनि प्रभावितले पुनः जग्गाको मुआब्जा माग गरेपछि समस्या बल्झिँदै गएको थियो । हाल मुआब्जाको केहि समस्या भने अझै पनि बाँकी नै छ । केहि स्थानीयहरु मुआब्जाकै बिषयलाई लिएर अदालतसम्म पुगेका छन् । जसका कारण फ्लाईओभरकै काम प्रभावमा पर्ने देखिएको छ ।
काठमाडौंबाट बाहिरिने र भित्रिने पृथ्वी राजमार्गको दूरी ३ किलोमिटर छोट्याउने सो सुरुङ मार्ग पुग्नका लागि आवश्यक फलाईओभर निर्माण पनि काठमाडौंको बलम्बुमा धमाधम भईरहेको छ । तर, फ्लाईओभर निर्माण भईरहेको स्थानकै केहि स्थानीयले क्षतिपूर्ति माग गरेका छन् । माग गरेकोमध्ये ९५ प्रतिशतले क्षतिपुर्ति लिएपनि ५ प्रतिशत स्थानीयले अझै नमानेको अवस्था छ ।
सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले पाएको थियो । २०७६ देखि निर्माण सुरु गरेको कम्पनीले कोरोना महामारीमा काम गर्न नपाएको भन्दै म्याद थप्न आग्रह गरेपछि नेपाल सरकारले आयोजनाको म्याद २०२४ अप्रिलसम्म पुर्याएको थियो । पुनः यसको म्याद एक बर्ष थपिएर २०२५ अप्रिलसम्म पुर्याइएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुंगा बलम्बुसम्मको दुरी तीन किलोमिटरले कम हुनेछ । सडकको दुरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश बिन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघण्टा समय बचत हुने छ ।