Logo

पृथ्वी राजमार्ग आज १० बजेसम्म बन्द गरिने, दुर्घटनाग्रस्त भारतीय बस निकालिदै

पृथ्वी राजमार्ग आज १० बजेसम्म बन्द गरिने, दुर्घटनाग्रस्त भारतीय बस निकालिदै



काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वी राजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले दुर्घटनापछि मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न ठूला मेसिनरी उपकरणहरूको आवश्यक पर्ने हुँदा सो समय राजमार्ग बन्द गरी बस निकाल्न लागिएको हो । आज बिहान ६ः३० देखि १०ः०० बजेसम्म पृथ्वीराजमार्गको सो खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने छ ।

दुर्घटनाग्रस्त बसलाई सुरक्षित रूपमा नदीबाट निकालेर मात्र यातायात पुनः सुचारु गरिने प्रशासनले जनाएको छ । यस समयमा यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शक्रबार मर्स्याङ्दी नदीमा खसको थियो। जसमा २७ जना भारतीय नागरिकले ज्यान गुमाएका थिए । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको थियो ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको छ । दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार जारी छ । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL