Logo

एक महिनामै साढे २१ अर्ब बढीको इन्धन आयात, डिजेल खरीदमै बाहिरियो ७ अर्ब

एक महिनामै साढे २१ अर्ब बढीको इन्धन आयात, डिजेल खरीदमै बाहिरियो ७ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमै साढे २१ अर्ब बढीको इन्धन मात्रै आयात भएको छ । हरेक बर्षजसो नेपालले आयात गर्ने मुख्य वस्तुहरुको सूचीको पहिलो स्थानमै रहने इन्धनमार्फत राज्यबाट बर्षाैं खर्बाैं रुपैयाँ बराबर बाहिरिँदै आएको छ । इन्धन आयातको सोही प्रवृत्ति जारी रहँदा चालु आवको पहिलो महिनामा नेपालमा उल्लेख्य मात्रामा अर्थात एकै महिनामा २१ अर्ब ६६ करोड ९० लाख ४९ हजार रुपैयाँ बराबरको यस्तो इन्धन आयात भएको छ ।

यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने करिव ३० करोड रुपैयाँले कम हो । गत आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालमा विभिन्न देशहरुबाट २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको यस्तो इन्धन आयात भएको थियो । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा नेपालमा चालु आवको साउनमा भित्रिएको इन्धनमार्फत मात्रै नेपालले सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ ।

नेपालले चालु आवको साउनमा व्यहोरेको कुल व्यापारघाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँमा सबैभन्दा ठूलो हिस्सा अर्थात २१ अर्ब ६६ करोड हिस्सा इन्धनको मात्रै छ । नेपालबाट यस्तो इन्धन निर्यात नहुने भएपछि नेपालले यस्तो इन्धन खरिद मात्रै गर्ने गर्दछ । जसका कारण इन्धनको आयात बराबरकै व्यापाराघाटा नेपालले व्यहोर्ने गरेको छ । तथ्यांकअनुसार चालु आवको साउनमा आयात भएको इन्धनमार्फत नेपालले ८ अर्ब २७ करोड ८९ लाख रुपैयाँ भन्सार राजस्वसमेत उठाएको छ ।

डिजेल आयात उच्च

नेपालले चालु आवको पहिलो महिनामा आयात गरेको इन्धनमध्ये डिजेलको आयात सबैभन्दा उच्च छ । सबै बस्तुहरुमध्ये पनि सबैभन्दा बढी आयात भएको डिजेलको आयात चालु आवको साउनमा मात्रै ६ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको ७२ हजार लिटर आयात भएको छ । विभागका अनुसार यसै अवधिमा पेट्रोल ५ अर्ब ६९ करोड, एलपी ग्याँस ४ अर्ब ८२ करोड र एटिएफ १ अर्ब २० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालले चालु आवको साउनमा आयात गरेको डिजेल, पेट्रोल, एलपी ग्याँस र एटिएफ मार्फत २ अर्ब ९३ करोड, ३ अर्ब ४४ करोड, ९० करोड र १८ करोड ६० लाख रुपैयाँ बराबरको भन्सार राजस्व उठाएको छ । नेपालले पछिल्ला बर्षहरुमा व्यापारघाटामा उच्च प्रभाव पार्ने मुख्य वस्तुहरुको प्रयोगलाई निरुत्साहन गर्ने नीति लिएको छ ।

जसमा पेट्रोलियम पदार्थ पहिलो स्थानमा आउँछ । विश्वबजारबाट नेपालमा भित्रिने सबैभन्दा बढी रकमको वस्तु नै पेट्रोलियम पदार्थ हो । गत आर्थिक बर्षभरी मात्रै नेपालले यसमार्फत ३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । अझ भनौ नेपालमा पेट्रोलियम पदार्थ मात्रै नेपालको कुल निर्यात व्यापारको तुलनामा दोब्बर बढी भित्रिन्छ ।

यहि समस्यालाई मध्येनजर गर्दै र विश्व बजारमा चलेको ट्रेन्ड पछ्याउँदै नेपालले पनि पछिल्ला केहि बर्षदेखि विद्युतीय उपकरणहरुको प्रयोगलाई बढावा दिएको छ । पेट्रोलबाट संचालन हुने सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन, ग्याँसबाट चल्ने चुल्हो र हिटरको सट्टा विद्युतीय चुल्हो र हिटर, एसीलगायतका कारण नेपालमा पेट्रोल र ग्याँसको खपत घट्दै गएको नेपाल आयल निगमले पनि बताउँदै आएको छ । केहि बर्षदेखि नेपालमा भन्सार विभागको तथ्यांकले पनि इन्धन आयात नै ओरालो लागिरहेको देखाउँछ । तरपनि नेपालको कुल आयात व्यापार र व्यापारघाटामा इन्धन आयातको हिस्सा सबैभन्दा बढी नै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL