Logo

भारतकी राज्यमन्त्री खडसेले टिचिङ पुगेर भेटिन् बस दुर्घटनाका घाइते, २७ शव विमानबाट मुम्बइ लगिने

भारतकी राज्यमन्त्री खडसेले टिचिङ पुगेर भेटिन् बस दुर्घटनाका घाइते, २७ शव विमानबाट मुम्बइ लगिने



काठमाडौं । तनहुँको आँबुखैरेनी बस दुर्घटनामा घाइते आफ्ना नागरिकको अवस्था बुझ्न नेपाल आएकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले काठमाडौंमा घाइतेलाई भेटेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनी घाइतेहरूको उपचार भइरहेको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । उनी बस दुर्घटनाका मृतकहरूको शव लिएर जाने बताइएको छ । हिजो तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिकबाट मस्र्याङदी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको थियो ।

मृतक सबै भारतीय नागरिक हुन् । मृतकमध्ये १६ महिला र ११ पुरुष रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । चितवनको भरतपुर अस्पतालमा मृतकको पोष्टमार्टम जारी छ ।

अहिलेसम्म ११ जनाको पोष्टमार्टम भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस हिजो बिहान साढे ११ बजे मर्स्याङदी नदीमा खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलसहित स्थानीयको सक्रियतामा घटनास्थलमा उद्धार गरेको थियो ।

मृतकको शव पठाउनेबारे छलफल हुँदैछ : गृहमन्त्री लेखक

यसैबीच गृहमन्त्री लेखकले उपचारमा रहेका घाइतेमध्ये एक–दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको बताए । उनले बिरामीको उपचार राम्रोसँग भइरहेको बताएका छन् । भारतबाट आएको पर्यटकको सेना प्रहरीहरुले चाँडै उद्वार गरेर केही मानिसहरुलाई बचाउन सकिएको र केहीको मृत्यु भएको जानकारी गराए ।

उनले भने, ‘घाइतेको उपचार भइरहेको छ । भारतको राज्यमन्त्री आउनुभएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुन्छ ।’ गृहमन्त्री लेखकले मृतकको शव पठाउनेबारे छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL