काठमाडौं । बैंकहरुले कर्जा सुरक्षाका लागि विभिन्न वस्तु तथा सेवा धितो राखेर कर्जा दिने गर्छन् । जसमा सबैभन्दा बढी हिस्सा घरजग्गाकै हुने गर्छ । तर, पछिल्लो समय भने कृषि उपज धितो राखेर पनि बैंकहरुले लगातार कर्जा प्रवाह बढाइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्ष २०८०/८१ सम्म कृषि उपज अर्थात कृषि उत्पादनहरु धितो राखेर ६० अर्ब ७८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । यो अघिल्लो आर्थिक बर्ष २०७९÷८० सम्मको तुलनामा भने ७.८ प्रतिशत अर्थात ४ अर्ब ४० करोड ९० लाख रुपैयाँले बढी हो । अघिल्लो आवसम्म कृषि उपजको धितोमा ५६ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको देखिन्छ ।
पछिल्लो ३ बर्षको तथ्यांकलाई मात्रै हेर्दा पनि प्रत्येक बर्ष कृषि उपजहरु धितो राखेर कर्जा लिनेको संख्या र कर्जा परिमाण बढिरहेको देख्न सकिन्छ । आर्थिक बर्ष २०७८/७९ सम्म यस्तो कृषि उपज धितोमा बैंकहरुले ४८ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ कर्जा दिएका थिए । त्यस्तो कर्जा आर्थिक बर्ष २०७९/८० मा १५.९ प्रतिशत अर्थात ७ अर्ब ७४ करोड ८० लाख रुपैयाँले बढेको थियो ।
खासगरी कृषि उपजमध्ये चामल, जुटलगायतका वस्तुहरु धितो राखेर बैंकहरुले ऋण दिने गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आर्थिक बर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरुले चामल मात्रै धितो राखेर १३ अर्ब ५२ करोड १६ लाख रुपैयाँ ऋण प्रवाह गरेको देखिन्छ । यस्तै यसै अवधिमा कच्चा जुट धितो राखेर ५५ करोड १६ लाख र अन्य कृषि उपजहरु धितो राखेर ४६ अर्ब ७० करोड ८९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको देखिएको छ । गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा चामल धितोमा प्रवाह भएको कर्जा मात्रै ११.१ प्रतिशत अर्थात १ अर्ब ३५ करोड ३४ लाख रुपैयाँले वृद्धि भएको देखिन्छ । आर्थिक बर्ष २०७९/८० सम्ममा चामल धितोमा १२ अर्ब १६ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
घरजग्गा धितोमा सर्वाधिक कर्जा प्रवाह
राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षसम्म सबैभन्दा बढी कर्जा घरजग्गा धितोमा प्रवाह भएको देखिएको छ । गत आर्थिक बर्षसम्म घरजग्गा धितो राखेर बैंकहरुले ३४ खर्ब ३७ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक बर्ष २०७९÷८० को तुलनामा १ खर्ब २१ अर्ब रुपैयाँले बढी हो । अर्थात अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष घरजग्गा धितोमा प्रवाह हुने कर्जा ३.७ प्रतिशतले मात्रै बढेको हो । अघिल्लो आवसम्ममा यस्तो कर्जा ३३ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ बराबरको प्रवाह भएको थियो ।
यस्तै गत आर्थिक बर्षसम्म स्थिर पुँजीमध्ये विभिन्न उपकरण तथा साधनहरु धितो राखेर बैंकहरुले १ खर्ब ६९ अर्ब ऋण प्रवाह गर्दा फर्निचर धितोमा २ अर्ब ४८ करोड, सवारीसाधन धितोमा १ खर्ब ४८ अर्ब, अन्य स्थिर सम्पत्तिको धितोमा १ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै यसै अवधिसम्म विभिन्न बैंकहरुले बहुमूल्य धातु मानिने सुन र चाँदी धितो राखेर ५८ अर्ब ४८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् ।
यता चालु सम्पत्तितर्फ गैर कृषि उत्पादनमध्ये कच्चा पदार्थ, आधा निर्मित वस्तुहरु, रेडिमेड वस्तुहरु धितोमा पनि उत्तिकै ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार गत आर्थिक बर्षसम्म नुन, चीनी, घ्यु र तेल धितो राखी बैंकहरुले ८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् भने कपडा धितो राखेर ९ अर्ब ३६ करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिएको छ ।
यी वस्तुको धितोमा कर्जा घट्यो
तर अघिल्लो आर्थिक बर्षको तुलनामा केहि मुख्य धितोमा प्रवाह हुने कर्जा भने गत आर्थिक बर्षमा घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार गत आर्थिक बर्षमा बैंकहरुमा रहेको मुद्धती निक्षेपको धितोमा कर्जा, सरकारी ऋणपत्रको धितोमा प्रवाह हुने कर्जा, सवारीसाधनको धितोमा दिईने कर्जा, कपडाको धितोमा दिईने कर्जा, निर्यात बिलमा दिइने कर्जा, व्यक्तिगत, सामुहिक र अन्य केहि ग्यारेन्टीमा दिईने कर्जामा भने ठूलो गिरावट आएको छ ।
अर्थतन्त्रमा देखिएको समस्याका कारण केही ठूला कर्जाहरुमा गिरावट आएको राष्ट्र बैंकका एक अधिकारीले बताए । खासगरी गर्न आवमा अर्थतन्त्रमा देखिएको समस्याकै कारण बैंकहरुको कर्जा प्रवाह न्यून भएको र त्यसैको असर धितोमा दिइने कर्जामा परेको उनको भनाई थियो ।