Logo

नेपाल टेलिकमको सम्पत्ति २३ अर्बले घट्यो, कर्मचारीको सेवा सुविधामा भने झण्डै अर्बको वृद्धि

नेपाल टेलिकमको सम्पत्ति २३ अर्बले घट्यो, कर्मचारीको सेवा सुविधामा भने झण्डै अर्बको वृद्धि



काठमाडौं । पछिल्लो समय लगातार कमजोर बन्दै गएको नेपाल टेलिकमको सम्पत्ति पनि ओरालो लाग्दै गएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष मात्रै कम्पनीको कुल सम्पत्ति २३ अर्ब रुपैयाँले घटेको हो । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक बर्षसम्म कम्पनीको कुल सम्पत्ति १ खर्ब ३६ अर्ब ७० करोड रुपैयाँमा झरेको छ । त्यसअघि आर्थिक बर्ष २०७९/८० मा कम्पनीको कुल सम्पत्ति १ खर्ब ५९ अर्ब ५२ करोड रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको सम्पत्ति घट्नुमा सबैभन्दा मुख्य कारण भने लगानी घट्नुमा रहेको देखिन्छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक बर्ष अघिल्लो आर्थिक बर्षको तुलनामा नेपाल टेलिकमले विभिन्न क्षेत्रमा गर्ने लगानी मात्रै १७ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक बर्षसम्म ५२ अर्ब ९१ करोड रुपैयाँ बराबर रहेको कम्पनीको लगानी गत आर्थिक बर्षको असार मसान्तसम्म पुग्दा घटेर ३५ अर्ब ५५ करोड रुपैयाँमा खुम्चिएको हो । यस अवधिमा कम्पनीको चल सम्पत्ति १५ अर्ब ७९ करोड रुपैयाँले घट्दा अचल सम्पत्ति अर्थात स्थिर सम्पत्ति भने ८ अर्ब बढीले घटेको छ ।

यस अवधिमा कम्पनीको स्थिर सम्पत्तिमा पर्ने गुडविल वा कम्पनीको ब्राण्डिङ मूल्य बढेपनि कम्पनीका उपकरण, भवनलगायत सम्पत्ति ३ अर्ब रुपैयाँले घटेको छ । यस्तै यसै अवधिमा स्थिर सम्पत्तिमै पर्ने डिफर्ड ट्याक्स एसेट ५ अर्बले, कन्ट्र्याक्ट कस्ट एसेट ९ करोडले, कर्मचारीलाई दिएको कर्जा २ करोडले, चालु कामको सम्पत्ति ४८ करोड रुपैयाँले घटेको देखिन्छ ।

यस्तै यसै अवधिमा चालु सम्पत्तितर्फ भने सबैभन्दा बढी लगानी शीर्षकमा २३ अर्बको गिरावट आउँदा व्यापार आय २६ अर्बले घटेको देखिन्छ । यस्तै चालु सम्पत्तिमै पर्ने इन्भेन्टरी शीर्षकको सम्पत्ति १३ करोडले घटेको वित्तीय विवरणमा उल्लेख छ । यता कम्पनीको नगद सम्पत्ति भने एक बर्षको अवधिमा ५ अर्ब ४२ करोडबाट घटेर २ अर्ब २२ करोड रुपैयाँमा झरेको देखिन्छ । हाल कम्पनीसँग १८ अर्ब रुपैयाँ बराबरको सेयर पुँजी छ भने ७६ अर्ब ४९ करोड रुपैयाँ बराबरको रिजर्भ तथा सरप्लस छ ।

टेलिकमले गएको आर्थिक बर्ष २०८०/८१ मा खुद आम्दानी ४१ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक बर्ष २०७९÷८० मा कम्पनीको खुद आम्दानी ४४ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो । खासगरी यस अवधिमा कम्पनीका ग्राहकसँग गरिने सम्झौतामार्फत हुने आम्दानीमा २ अर्ब र वित्तीय आम्दानीमा करिव १ अर्ब रुपैयाँको गिरावट आएको देखिन्छ । पछिल्लो समय टेलिकमको बजार हिस्सा, ग्राहकसंख्यालगायत बढिरहेपनि कम्पनीको आम्दानी, नाफा, कुल सम्पत्तिलगायत लगातार घटिरहेको देख्न सकिन्छ ।

गएको आर्थिक बर्षमा टेलिकमको सबैभन्दा बढी खर्च भने कर्मचारीको सेवासुविधामा भएको देखिन्छ । टेलिकमका अनुसार गत आवमा कम्पनीले आफ्ना कर्मचारीको तलवबाहेकको सुविधाका लागि भन्दै ८ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ । यो अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा झण्डै ९२ करोड रुपैयाँले बढी हो । अर्थात उक्त बर्ष कम्पनीले आफ्ना कर्मचारीको नाममा ८ अर्ब रुपैयाँ मात्रै खर्च गरेको थियो । खासगरी कर्मचारी वृत्ति विकास कोष, संचय कोष, विभिन्न पेन्सन सुविधा, बीमा सुविधालगायत यो शीर्षकमा पर्दछन् ।

यस्तै गत आर्थिक बर्षमा कम्पनीको संचालन तथा मर्मत खर्च भने झण्डै १ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आर्थिक बर्षमा ७ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको कम्पनीले गत आर्थिक बर्षमा भने जम्मा ६ अर्ब ६६ करोड २४ लाख रुपैयाँ मात्रै खर्च गरेको देखिन्छ । कम्पनीले यसबाहेक आफनो मार्केटिङ र ब्राण्डिङ खर्च र एसोसिएट्स खर्च केहि घटाएको छ । यद्यपि गत आर्थिक बर्षमा कम्पनीको कार्यालय संचालन खर्च भने ३ करोड रुपैयाँले बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL