Logo

लगातारको वर्षासँगै फेरि उर्लियो बागमती, कैलाली डुबानमा

लगातारको वर्षासँगै फेरि उर्लियो बागमती, कैलाली डुबानमा



काठमाडौं । लगातारको वर्षासँगै काठमाडौंको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बागमती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज (बुधबार) बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स–साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ । सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ ।

वर्षाले कैलालीमा डुबान

कैलालीमा लगातारको वर्षले नदीहरूमा पानीको बहाव बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कटैनी, कान्द्रा, मोहना र यसका सहायक नदीहरूमा पानीको बहाव बढेको छ ।

यसैबीच कैलालीको गौरीगंगा नगरपालिका केही क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार गौरीगंगा नगरपालिका ७, ९ नं. वडाको महादेवा, भगवानपुर, शंकरपुर गाउँका २२ घर डुबानमा परेका हुन् ।

महादेवाकै स्थानीय महादेव चौधरीको पोखरीमा बाढी पस्दा उनले पालन गरेको ४ हजार बढी माछा समेत बगेको स्थानीय विहारी चौधरीले बताए । जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि प्रशासनले उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL