Logo

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, एकैदिन ८ सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा, एकैदिन ८ सयले बढ्दा कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ऐतिहासिक उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

यसै अवधिमा विश्व बजारमा भने सुनको मूल्य प्रतिऔंस २५ सय १४ डलरको आसपासमा कारोबार भईरहेको छ । यो मूल्य १ महिना अघिको तुलनामा १ सय ४ डलरले बढी हो भने पछिल्लो ६ महिना अघिको तुलनामा करिव ५ सय डलरले बढी हो । विश्व बजारमा बुधबार भईरहेको सुनको कारोबार मूल्य पनि हालसम्मकै उच्च हो ।

जानकारहरुका अनुसार हाल अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले चाँडै ब्याज दर घटाउन थाल्छ भन्ने आशाले सुनको मूल्य वृद्धिमा मद्दत गरिरहेको छ । फेडरल रिजर्भले अर्को महिना हुने फेडरल ओपन मार्केट कमिटी बैठक (एफओएमसी बैठक)बाट ब्याजदर घटाउन थाल्ने विश्वास लिइएको छ । यदि ब्याजदर घट्यो भने, लगानीकर्ताहरूले लगानीको विकल्प खोज्न थाल्नेछन्, जसले सुन र अन्य बहुमूल्य धातुहरूको बजार थप बढ्नेछ ।

यस्तै अमेरिकाको आर्थिक तथ्याङ्कले फेडरल रिजर्भका लागि निरन्तर ब्याजदर घटाउने अवस्था सिर्जना गरिरहेको छ । पहिलो, बेरोजगारीमा भएको अत्याधिक वृद्धिका कारण विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मन्दीमा फस्ने डर छ । अहिले रियल स्टेट क्षेत्रको तथ्याङ्क खराब रहेको बाहिर आएको छ । यी सबै तथ्याङ्कले फेडरल रिजर्भले ब्याजदर घटाउने निर्णयलाई थप समयका लागि स्थगित गर्न नसक्ने अवस्था सिर्जना गरिरहेको छ ।

सस्तो ब्याजदर भएको अवधिलाई बहुमूल्य धातुहरू विशेष गरी सुनको लागि राम्रो मानिन्छ । जब ब्याजदर उच्च रहन्छ, लगानीकर्ताहरू उच्च प्रतिफलको खोजीमा बन्डहरूमा फर्कन्छन् । ब्याजदर घटेपछि सुन किन्न थाल्छन् । यसअघि विश्वव्यापी अनिश्चितताका कारण सुनले समर्थन पाइरहेको थियो । पश्चिम एसियामा बढेको तनावका कारण सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । युद्ध र आर्थिक अनिश्चितताको वातावरणमा लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रूपमा लिएर खरिद गर्न थालेका छन् ।

विश्वबजारमा पछिल्लो ६ महिनामा मात्रै सुनको मूल्य प्रतिऔंस ५ सय डलरले बढ्दा नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाई लिईरहेको छ ।

बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १८ सय ३५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्