Logo

बजारमा अधिक तरलताको प्रभाव : एक वर्षमा राष्ट्र बैंकले बजारबाट उठायो पौने ४७ खर्ब

बजारमा अधिक तरलताको प्रभाव : एक वर्षमा राष्ट्र बैंकले बजारबाट उठायो पौने ४७ खर्ब



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्ष २०८०/८१ मा बजारबाट साढे पौने ४७ खर्ब रुपैयाँ खिचेको छ । बैंकहरुमा थुप्रिएको तरलता र कर्जा प्रवाहमा लगातार संकुचन भइराख्दा सन्तुलनका लागि राष्ट्र बैंकले गत आवमा बजारबाट ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ बजारबाट प्रशोचन गरेको हो ।

बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस हुने गर्छ । सोही सकसलाई न्यूनीकरण गर्नकै लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणहरुको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्ने गर्छ । राष्ट्र बैंकको तथ्यांकलाई नै आधार मान्दा गत आर्थिक बर्ष बैंकिङ प्रणालीबाट निक्षेप संकलनको उपकरण प्रयोग गरी ११ खर्ब ५१ अर्ब २५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधा (एसडीएफ)मार्फत उक्त ३५ खर्ब २२ अर्ब ३५करोड रुपैयाँ प्रशोचन गरेको हो ।

तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षभरी राष्ट्र बैंकले १३ पटक लिलामी बढाबढमार्फत बजारबाट निक्षेप संकल गरेको देखिन्छ । जसमा २१ दिने निक्षेप सुविधाअन्तर्गत ८ पटक गरी ७ खर्ब ८९ अर्ब रुपैयाँ प्रशोचन गरिएको थियो भने १३ दिनको निक्षेप संकलन सुविधा मार्फत ५ पटक गरी ३ खर्ब ५२ अर्ब रुपैयाँ खिचिएको थियो ।

राष्ट्र बैंकले गत फागुनदेखि वित्तीय प्रणालीमा अधिक तरलता देखिएकै कारण बैंकहरुले सीधै केन्द्रीय बैंकमा निक्षेप राख्न सकिने गरी एसडीएफ सुविधाको सुरुवात गरेको थियो । यो सुविधामार्फत बैंकहरुले हरेक हप्ताको आईतबार र बुधबार सिधै राष्ट्र बैंकमा पैसा राख्न पाउने सुविधा थियो । त्यति गर्दागर्दै पनि बजारमा अधिक तरलताको समस्या कायमै रहेपछि केन्द्रिय बैंकले हरेक हप्ताको आईतबार, बुधबार र बिहीबार गरी ३ दिन बैंकहरुले निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न पाउने सुविधाको व्यवस्था गरेको थियो । बैंकहरुले स्थायी निक्षेप सुविधाको उपयोग गरिसकेपछि पनि बजारमा अधिक तरलता भएको खण्डमा केन्द्रिय बैंकले निक्षेप संकलन औजार प्रयोग गरी आफै निक्षेप प्रशोचन गर्ने गरेको छ ।

रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको देखिन्छ । जसका कारण गत आर्थिक बर्षको मध्यतिरबाट बैंकिङ प्रणालीमा लगातार निक्षेप बढेको बढ्यै छ भने कर्जा लगानीमा लगातार संकुचन भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएकै कारण गत बर्ष राष्ट्र बैंकले बढीभन्दा बढी रकम बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको देखिन्छ ।

चालु आर्थिक बषमा पनि राष्ट्र बैंकले अधिक तरलता भएकै कारण साउन यता राष्ट्र बैंकले निक्षेप संकलनमार्फत ६ पटकसम्म बैंकिङ प्रणालीबाट रकम तानिसकेको छ । यस अवधिमा राष्ट्र बैंकले ३ खर्ब ३० अर्ब ६० करोड रूपैयाँ तरलता खिचेको छ ।

तरलता फालाफाल भएकै कारण बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आईसकेको छ । राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत तोकेको छ । राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा निक्षेप ६४ खर्ब १९ अर्ब र कुल कर्जा लगानी ५१ खर्ब ६२ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL