Logo

पूर्व अर्थमन्त्रीहरुले भने, कर्मचारीका कारण वैदेशिक लगानी भित्रन सकेन

पूर्व अर्थमन्त्रीहरुले भने, कर्मचारीका कारण वैदेशिक लगानी भित्रन सकेन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले देशमा कर्मचारीतन्त्र हावी हुँदा वैदेशिक लगानी भित्रने नसकेको बताएका छन् । नेपालमा कर्मचारीहरुले लागानीकर्तालाई धेरै दुःख दिँदा उनीहरु हतास भएको समेत उनीहरुको आरोप छ । ‘नेपालमा सच्चिनै नसेको एउटा क्षेत्र भएको कर्मचारी तन्त्र नै हो,’ सेजनद्वारा आयोजित प्रत्यक्ष वैदेशिक लगानीका संभावना र चुनौती विषयक कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘कर्मचारीहरुले लगानीकर्तालाई घुमीफिरी आफुकहाँ आउनुपर्ने वाध्यता सिर्जना गरेका छन् ।’
shankar_sharma

देशको आर्थिक विकासका लागि तेस्रो पुस्ताका राजनीतिक पार्टी चाहिने भन्दै त्यसका लागि सवै राजनीतिक दलहरु तयार हुनुपर्ने उनको भनाइ थियो । ‘वैदेशिक लगानी भित्र्याउनका लागि ऐन नियम मात्र परिवर्तन गरेर हुँदैन,’ उनले भने, ‘त्यसका लागि हाम्रो मानसिकतामा परिवर्तन हुनु जरुरी छ ।’
bhawani_rana

यसैगरी अर्का पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि कर्मचारीतन्त्र सुध्रनु पर्ने बताउँदै वैदेशिक लगानी भित्र्याउनका लागि सवै राजनीतिक पार्टीले आफ्नो एजेण्डामा आर्थिक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए । ‘देशमा वैदेशिक लगानी ल्याउनु पूर्व स्वदेशी लगानीकर्ताहरुको लगानी आउनु जरुरी छ,’ उनले भने, ‘नेपाली लगानीकर्ताहरु सफल भएपछि मात्र विदेशी लगानी भित्र्न सक्छ ।’ साथै स्वदेशी पूँजीले गर्न सक्ने काममा विदेशी लगानी भित्र्याउन नहुने समेत उनको तर्क छ ।

यसैगरी पूर्व सिचाई मन्त्री एपी साउदले देशमा लगानीको वातावरण बनाउन उद्योग कलकारखानामा हुँदै आएको ट्रेड युनियनको हावीलाई हटाउनुपर्ने बताए । ‘देशका ठूला र राम्रा उद्योगहरु ट्रेड युनियनका कारण समस्यामा परेका छन्,’ उनले भने, ‘राजनीतिक कारणले गर्दा नै लगानी भित्रन सकेको छैन ।’

यसैगरी कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले लगानीकर्तालाई विदेशमा कानुनी रुपमा लगानी गर्न पाउने वातावरण बनाउनु पर्ने बताए । ‘विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न सक्छन् भने नेपालीले विदेशमा लगानी गर्न किन नपाउने,’ उनले भने, ‘नेपाली उद्यमीहरुले विदेशमा गएर नेपालको वारेमा प्रचार गर्न सके भने सहज रुपमा विदेशी लगानी भित्र्याउन सकिन्छ । यसैगरी कार्यक्रममा सहजकर्ताको भुमिका निर्वाह गर्दै सेजनका पूर्व अध्यक्ष गजेन्द्र विष्टले पनि निश्चित सिमा तोकेर सरकारले लगानीको लागि ढोका खुला गर्नुपर्ने बताए ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाले देशको उद्योग व्यवसाय विकासको लागि वैदेशिक लगानी आउनुपर्ने बताउँदै त्यसको लागि राजनीतिक स्थायित्व हुनुपर्ने बताइन् । साथै वैदेशिक लगानी भित्र्याउँदा नेपालको आफ्नै मौलिकपन झल्किने उद्योग कलकारखानाको संरक्षण गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्