Logo

महँगी थप घट्यो, असारमा वार्षिक विन्दुगत मुद्रास्फीति ३.५७ प्रतिशतमा झर्यो

महँगी थप घट्यो, असारमा वार्षिक विन्दुगत मुद्रास्फीति ३.५७ प्रतिशतमा झर्यो



काठमाडौं । गएको आर्थिक बर्ष २०८०/८१ मा बार्षिक उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको गत आवको बार्षिक तथ्यांकअनुसार २०८१ असारमा बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति उक्त अंकमा झरेको हो ।

यता गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ५.४४ प्रतिशत रहेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २.३० प्रतिशत विन्दुले कम हो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति औसतमा ७.७४ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्षमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL