Logo

नयाँ आवको पहिलो महिनामै साढे आठ अर्ब बढीको लगानी प्रतिबद्धता, पर्यटन र सेवामुलक क्षेत्रमा आकर्षण

नयाँ आवको पहिलो महिनामै साढे आठ अर्ब बढीको लगानी प्रतिबद्धता, पर्यटन र सेवामुलक क्षेत्रमा आकर्षण



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना (साउन)मै साढे ८ अर्ब बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनामा विभिन्न देशका लगानीकर्ताहरुले ५९ परियोजनामार्फत ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जाहेर गरेका हुन् ।

उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत भने ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । चालु आवको साउनमा आएको प्रतिबद्धता गत आवको सोही अवधिको तुलनामा भने करिव ३ अर्बले कम हो । गत आवको पहिलो महिना साउनमा ११ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

चालु आवको पहिलो महिना साउनमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्सक्रिप्सन एग्रिमेन्ट र प्रविधि हस्तान्तरण शीर्षकमा थप ३१ करोड २० लाख १२ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार नेपालमा वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्था भएदेखि हालसम्म ५ खबै २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तो लगानी अटोमेटिक रुटबाट मात्रै ८ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । उद्योग विभागले गएको बैशाख १७ देखि अटोमेटिक रुटमार्फत वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्था मिलाएको हो ।

पर्यटन र सेवामुलक क्षेत्रमा उच्च आकर्षण

नेपालमा साउनमा लगानी प्रतिबद्धता जाहेर गर्ने परियोजनामध्ये पर्यटन र सेवामुलक क्षेत्रका परियोजनाको बाहुल्यता उच्च छ । उद्योग विभागका अनुसार साउन महिनामा नेपालमा लगानी प्रतिबद्धता जाहेर गरेका ५९ परियोजनामध्ये सबैभन्दा बढी ६८ प्रतिशत अर्थात ४० परियोजना पर्यटन क्षेत्रका छन् । यी परियोजनामार्फत साउनमा आएको प्रतिबद्धतामध्ये ७३ प्रतिशत प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

यस्तै यसै अवधिमा सेवामुलक क्षेत्रका १२ परियोजनामार्फत कुल लगानीको १६ प्रतिशत लगानी प्रतिबद्धता नेपालमा आएको छ । यसरी नेपालमा पर्यटन र सेवामुलक क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको आकर्षण उल्लेख्य छ । यसै अवधिमा उत्पादनमुलक क्षेत्रका ३ र सूचना प्रविधि र कृषि क्षेत्रका समान २ परियोजनामार्फत विभागमा लगानीको प्रतिबद्धता आएको छ ।

यसरी नेपालमा साउनमा आएको प्रत्यक्ष वैदेशिक लगानीका परियोजनामध्ये ५७ ओटा साना र जम्मा २ ओटा ठुला परियोजना विभागका दर्ता भएका छन् । अर्थात साउनमा आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता साना परियोजनाकेन्द्रित छ ।

सूचना प्रविधि क्षेत्रका परियोजनाले रोजे अटोमेटिक रुट

उद्योग विभागले दिएको जानकारी अनुसार साउन महिनामा स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत धेरैजसो सूचना प्रविधि क्षेत्रका परियोजनाहरु दर्ता भएको देखिएको छ । विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत दर्ता भएका कुल ३१ परियोजनामध्ये २२ परियोजना सूचना प्रविधि क्षेत्रका छन् । यी २२ परियोजनामार्फत साउनमा २० करोड २५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

यस्तै यसै अवधिमा पर्यटनमुलक क्षेत्रका ४, उत्पादनमुलक र सेवामुलक क्षेत्रका समान २ र पूर्वाधार क्षेत्रका १ परियोजना अटामेटिक रुटमार्फत दर्ता भएका छन् । यी परियोजनाबाट क्रमशः १४ करोड, ७ करोड ५० लाख, १६ करोड र २ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । खासगरी ५० करोडमुनि लगानी भएका परियोजनाहरुको दर्ता प्रक्रिया सहज गर्नका लागि उद्योग विभागले गएको बैशाख १७ देखि यो प्रणाली सुरुवात गरेको थियो । लगानीकर्ताहरुले ५० करोड तलको लगानी भएको परियोजनाहरुलाई अनलाइनबाटै स्वीकृति लिन मिल्ने सुविधा यो प्रणालीमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL