Logo

एक वर्षमा तीन सय सिँचाइ आयोजना निर्माण, १७ बहुवर्षीय सिँचाइ आयोजना

एक वर्षमा तीन सय सिँचाइ आयोजना निर्माण, १७ बहुवर्षीय सिँचाइ आयोजना



काठमाडौं । जिल्लामा तीन सय २६ सिँचाइ आयोजना निर्माण भएका छन् । बागमती प्रदेश सरकार तथा सङ्घीय सरकारको सशर्त अनुदानमा एक वर्षमा ती आयोजना पूरा भएका जिल्ला जलस्रोत तथा सिँचाइ विकास कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेटमा दुई सय ९७ योजनाका लागि बजेट विनियोजन गरिएकामा दुई सय ८८ वटा योजना सम्पन्न भएका उक्त कार्यालयका सूचना अधिकारी कुश बुढाथोकीले जानकारी दिए । प्रदेश सरकारअन्र्तगतका योजनामध्ये चार योजना कार्यान्वयनमा जान सकेका थिएनन् भने पाँच योजना गत असारमा सम्झौता भई काम सुरु भएको छ ।

त्यसैगरी सङ्घीय सरकारको सशर्त अनुदानतर्फ २९ योजनामा बजेट विनियोजन भएकामा दुईवटा एकीकृत ऊर्जा कार्यक्रमअन्र्तगतका सिँचाइ आयोजनाबाहेक २७ योजनाको काम भएको उक्त कार्यालयले जनाएको छ । अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयन गरेका १७ बहुवर्षीय सिँचाइ आयोजनामध्ये दुई वर्षअघि सुरु गरिएका तीन आयोजनाको काम सम्पन्न भएको इन्जिनियर बुढाथोकीले बताए ।

बहुवर्षीय सिँचाइ योजनामध्ये चाखोला–चिते–सिङ्गे–चैनपुर सिँचाइ आयोजना मण्डनदेउपुर–३ र ४, आँसीखोला–आँपखोला सिँचाइ योजना मण्डनदेउपुर–४ र लप्सीबोट डिही–ओडारे–घिमिरेगाउँ बञ्जरे–रुप्सेटार मोड सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको हो ।

जिल्लामा सञ्चालित बहुवर्षीय सिँचाई योजनामध्ये तेमाल गाउँपालिका–८ स्थित सिँचाइ योजना, पाँचखाल नगरस्थित शङ्करेबाँध–ब्रम्हायणी सिँचाइ योजना निर्माण भइरहेको छ । त्यसैगरी पाँचखालकै चाखोला–जोरपिप्ले लिफ्ट सिँचाइ योजना, बनेपाको हिले–जलजले पर्यटकीय ताल, तेमालमा सुनकोशी–चोपाटार–मुक्पाटार सिँचाइ योजना र थिलवार पारी थिल्वार रोशी लिफ्ट सिँचाइ योजना, पनौतीमा बस्नेतटार लिफ्ट सिँचाइ योजना, रोशी गाउँपालिकामा शिखरटार सिँचाइ योजना, रोशी खोलाबाट काल्धारसम्मको लिफ्ट सिँचाइ आयोजनाको काम जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

महाभारत गाउँपालिकामा चारवटा बाहुनविर्ता–मुलिखोला लिफ्ट सिँचाइ योजना, कोखाजोर खोला आपटार गोकुले सिँचाइ योजना, चाउखोला धाप लिफ्ट सिँचाइ योजना, चाउखोला सोक्तेल सिँचाइ योजना र पोखराखोला–बेसारे खानीटार–छाङटार सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छन् ।

यसैबीच खानिखोला गाउँपालिका–५ गैरीखोला तालढुङ्गामा एक घर एक धारा कार्यक्रमअन्तर्गत एक सय ४५ घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको छ । गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी रु एक करोड छ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजनाको २०८० साल साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनले उक्त खानेपानी आयोजनाको शनिबार उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL