Logo

जीबी राई खोज्न प्रहरीलाई नै मलेसिया पठाउने तयारी, निर्णय गृह मन्त्रालयमा

जीबी राई खोज्न प्रहरीलाई नै मलेसिया पठाउने तयारी, निर्णय गृह मन्त्रालयमा



काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु राई (जीबी) खोज्न मलेसियामै प्रहरी पठाउने भएको छ । केही साताअघि नै प्रहरी प्रधान कार्यालयले प्रहरी पठाउने निर्णय गरेको हो । सो निर्णयलाई लिखित रुपमा गृह मन्त्रालय पठाएको छ ।

‘हेड क्वार्टरमा निर्णय भएर मन्त्रालय पत्र पठाइसकिएको छ । मिति भने तय भइसकेको छैन,’ एक उच्च प्रहरी अधिकृतले भने । सहकारी ठगीबारे अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारी प्रकरणमा विदेशमा रहेका २१ जनालाई फर्काएर ल्याउन गृह मन्त्रालयसँग माग गरेको छ । पछिल्लो समय अनुसन्धानमा रहेकाले पनि राईलाई झिकाउने प्रकृया सुरु गरिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक राई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भइसकेको छ । पूर्व गृहमन्त्री रवि लामिछानेले राई मलेसियामा लोकेट भएको जानकारी सार्वजनिक रुपमा नै दिइसकेका छन् । बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको हो । गत साउन २२ गते उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । एक हजार ३६ जनाले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । जसमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन् । प्रहरीले अध्यक्षसहित १९ जनालाई प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL