Logo

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी



काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमालेबाट निर्वाचित अध्यक्ष कुँवर स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था, बिरुवा सेवा केन्द्रका पूर्व सचिव हुन् ।

अध्यक्ष कुँवर २३ साउनदेखि कार्यालय नगएको गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर क्षेत्रीले जानकारी दिए । ‘अध्यक्ष ज्यू बुधबार कार्यालय आउनु भएको थियो, कार्यालयको कामले काठमाडौंमा विभिन्न मन्त्रालयमा जानुपर्ने भएको भन्दै उपाध्यक्ष भगवती शर्मालाई कार्यवाहकको जिम्मा दिएर जानुभएको हो, त्यसपछि आउनु भएको छैन,’ उनले सुनाए ।

प्रहरीले जिल्ला अदालतबाट मंगलबार अध्यक्ष कुँवर, सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा गाउँपालिका शाखाका कर्मचारी सन्ध्या भण्डारीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । केसी र भण्डारी पक्राउ परिसकेका छन् । कुँवर भने फरार छन् । उनीहरूलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध प्रमाण लोप, नाश गर्न सक्ने र भागी जाने सम्भावना देखिएको प्रहरीले सोमबार स्याङ्जा जिल्ला अदालतसँग अनुमति माग गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठका अनुसार सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा कास्कीबाट कारबाही प्रक्रिया अगाडि बढाउन भनी ९ साउनको पत्र र सहकारीका बतचकर्ता ध्रुवनारायण श्रेष्ठले बचत रकम नपाएको र रकम हिनामिना भएको भन्दै १० साउनमा प्रहरीमा उजुरी दिएपछि अनुसन्धान थालिएको हो । प्रहरीले सूर्योदय सहकारीको बिरुवा सेवा केन्द्रका तत्कालीन सेवा केन्द्र प्रमुख जीवन वाग्लेलाई ११ साउनमा पक्राउ गरिसकेको छ । प्रहरीले सूर्याेदयको निक्षेपकर्तालाई उजुरी दिन २० साउनसम्मको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL