काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
बुधबार बिहान करिब ७ बजेको समयमा माथिबाट गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको हो । मौवाखोलामा पहिरोको कारण एकतर्फी सडक अवरुद्ध भएको छ भने चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प हुँदा यात्रुहरुलाई सास्ती भइरहेको छ । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण वर्षाको मौसममा यो सडकखण्ड पटक–पटक अवरूद्ध हुने गरेको छ ।