Logo

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिंदैछन् । अघिल्लो असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाहले आफ्नो सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराएका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ। नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्न । उनी दुई तिहाइतर्फ उन्मुख देखिन्छन् । आज मुख्यमन्त्री शाहलाई विश्वासको मत लिने वा नदिने भन्ने विषयमा दलहरूले दलको बैठक आह्वान गरेका छन् ।

एमाले कांग्रेस र नाउपाले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने सम्भावना छ । तर, उनीहरुले आज दिउँसो दलको बैठक राखेर यस विषयमा निर्णय गर्नेछन् । ११ सांसद रहेको राप्रपाका खेमादेवी विष्ट र स्वतन्त्र डा. तारा जोशीले पनि पक्षमा मतदान गर्ने सम्भावना कम छ । अहिलेसम्म विष्ट प्रतिपक्ष बेञ्चमा बसेकी छन् भने जोशीले विपक्षमा मतदान गर्ने वा तटस्थ बस्ने विषयमा छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL