Logo

नेपालबाट पानीको निर्यात : सम्भावना र अवसर भएपनि २४ खर्बको विश्व बजारमा नेपालको निर्यात करोडमा सीमित

नेपालबाट पानीको निर्यात : सम्भावना र अवसर भएपनि २४ खर्बको विश्व बजारमा नेपालको निर्यात करोडमा सीमित



काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालबाट विभिन्न देशमा पानीको निर्यात बढ्दै गएको छ । गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा नेपालबाट निर्यात हुने खानेपानीको मात्रा बढेको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षमा नेपालबाट जम्मा १४ लाख ५१ हजार रुपैयाँ बराबरको मात्रै प्रशोधित खानेपानी निर्यात भएको थियो । तर, गत आर्थिक बर्ष निर्यातमा नगद अनुदानको प्रभावका कारण एक बर्षमा ६५ लाख ६० हजार रुपैयाँ बराबरको प्रशोधित पानी निर्यात भएको छ ।

तथ्यांकअनुसार नेपालले जर्मनी, भुटान, भारत, जापान, अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा पानी निर्यात गर्ने गरेको हो । पछिल्लो समय विश्व बजारमै स्वच्छ खानेपानीको माग बढ्दो छ । नेपालका नदीनालाहरुमा बगिरहने प्राकृतिक पानी निर्यात गरेर अथाह आम्दानी गर्न सकिने सम्भावना रहेको बहस डेढ दशक अघिदेखि नै चल्दै आएको छ । तर, यस क्षेत्रका सरोकारवालाहरुले खासै चासो नदिँदा र सरकारले पनि उचित व्यवस्था नगरिदिँदा नेपालको पानी विभिन्न देशमा पुग्न नसकेको निर्यातकर्ताहरु बताउँछन् ।

यद्यपि नेपालले अहिले पनि आफ्नो निर्यात सम्भावना र अवसरलाई भने उपयोग गर्न नसकेको देखिन्छ । विश्व व्यापारको तथ्यांक राख्ने ट्रेड म्यापका अनुसार विश्वका विभिन्न देशहरुले बर्षेनी १८ अर्ब अमेरिकी डलर बराबर (२४ खर्ब रुपैयाँ बढी) को पानीको आयात गर्छन । यस्ता देशहरुले खासगरी तेस्रो मुलुकबाट पानी आयात गर्ने गरेको तथ्य उक्त तथ्यांकमा देखिन्छ । तर, विश्वकै स्वच्छ पानीको सबैभन्दा ठूलो स्रोत भएपनि नेपालको निर्यात अहिलेसम्म करोडमा मात्र सीमित छ ।

तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी पानी आयात गरेर खपत गर्ने देश भने अमेरिका हो । अमेरिकाले मात्रै बर्षेनी १ अर्ब डलर बढीको खानेपानी आयात गरेर खपत गर्ने गरेको छ । यस्तो पानी आयात गरेर खपत गर्ने देशको सूचीमा हङकङ, जर्मनी, नेदरल्याण्ड, चीन, बेलायत, फ्रान्स, जापानलगायतका देशहरु छन् । यी देशहरुले बार्षिक ५० करोड अमेरिकी डलर माथिको पानी आयात गरी खपत गर्ने गरेको तथ्यांकमा देखिन्छ ।

यसरी विश्वका ठुला देशहरुले पानी आयात गरेर खपत गरिरहेको मौकालाई छोप्दै अथाह सम्भावना भएको नेपालले पनि पानी निर्यातमा अग्रसरता देखाउनुपर्ने नेपाल बोटल वाटर्स इन्डस्ट्रीज एशोसिएसनका अध्यक्ष ध्रुब गौतम बताउँछन् । उद्योगीहरुले बर्षौंदेखि पानी निर्यातका लागि अवसर खोजिरहेको बताउँदै उनले सरकारले भने भनेबमोजिमको अवसर नजुराईदिएको गुनासो गर्छन । सरकारले गर्ने सहजीकरणको वातावरण मात्रै बनेको खण्डमा मात्रै पनि नेपालले विश्वबजारमा पानी निर्यातबाट अथाह मौका उठाउन सक्ने उनले बताए ।

हाल नेपालको गोसाईँकुण्ड, ककनी, लेलेलगायतका स्थानको पानीको गुणस्तर विश्वका अन्य बजारको पानीको तुलनामा बढी छ । यहि पानीलाई निर्यात गर्न सकेको अवस्थामा पनि अर्थतन्त्रमा ठुलो फड्को मार्न सकिने उनको भनाई छ ।

नेपालमा विभिन्न ५ प्रकारका प्रशोधित खानेपानी उत्पादन गर्ने गरिएको भनिएपनि हालसम्म मिनरल वाटर उत्पादन गर्ने उद्योगले बाहेक अन्यले वाणिज्य विभागबाट अनुमति नलिएको देखिएको छ । विभागका सूचना अधिकारी राकेश पाण्डेका अनुसार बोतलको पानी र जारको पानीको मूल्य तोकिएपनि अन्य प्रकृतिका पानीको मूल्य पनि तोक्ने हिसाबले हालै अन्य पानी उत्पादन गर्ने कम्पनीलाई विभागमा जानकारी दिन र अनुमति लिन आग्रह गरिएको छ । उनका अनुसार नेपालमा ५ प्रकारको प्रशोधित पानी उत्पादन हुने भएपनि शुद्ध प्रशोधित पानी उद्योगबाहेकले अनुमति लिएका छैनन् । यसका लागि विभागले ७ दिनभित्र विभागमा जानकारीका लागि आग्रह गरेको छ ।

पछिल्ला ५ बर्षको तथ्यांकलाई केलाउँदा नेपालले झिनो मात्रामा मात्रै पानीको निर्यात गरिरहेको देख्न सकिन्छ । आर्थिक बर्ष २०७८÷७९ मा नेपालले गर्ने पानीको निर्यात उच्च थियो । अर्थात उक्त बर्ष नेपालले ५७ लाख ८२ हजार रुपैयाँ बराबरको ४३ हजार ४ सय १२ लिटर पानी निर्यात गरेको थियो । त्यसको अघिल्लो बर्ष अर्थात आव २०७७÷७८ मा भने नेपालले २० लाख ७३ हजार रुपैयाँ बराबरको पानी निर्यात गरेको थियो भने आव २०७६÷७७ मा नेपालले जम्मा १ लाख ८७ हजार रुपैयाँ बराबरको मात्रै पानी निर्यात गरेको देखिन्छ । खासगरी नेपालले लामो समयदेखि नेपालबाट स्प्रिङ र हिमालय वाटरको रुपमा विदेशमा निर्यात गर्ने तयारी गरेपनि सम्भावनाको न्यून प्रतिशत वा हिस्सा मात्रै निर्यात हुने गरेको उद्योगीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL