Logo

पानी भन्दै जुस विदेश निर्यात गर्दै उद्योगी, भन्सारको कडाईपछि एकै वर्षमा दुई अर्बको पानी जुसमा परिणत

पानी भन्दै जुस विदेश निर्यात गर्दै उद्योगी, भन्सारको कडाईपछि एकै वर्षमा दुई अर्बको पानी जुसमा परिणत



काठमाडौं । नेपालमा विभिन्न प्रकारका जुस उत्पादन गरी पानीको शीर्षकमा विदेशमा निर्यात भइरहेको पाइएको छ । पछिल्लो समय यस्तो धन्दामा संलग्न उद्योगहरुमाथि भन्सार विभागले कडाई गरेको छ । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा नेपालबाट गुलियो मिलाईएको पानीको शीर्षकमा ५४ करोड ३९ लाख ५१ हजार रुपैयाँ बराबरको ८२ लाख २० हजार लिटर निर्यात भएको थियो ।

पानीकै शीर्षकमा नेपालका केहि जुस उद्योगहरुले भन्सार कार्यालयहरुलाई गुमराहमा राख्दै उक्त मात्रामा जुसयुक्त पेयपदार्थहरु विदेश निर्यात गरेका थिए । तर, गएको आर्थिक बर्ष २०८०/८१ मा भने भन्सारमा कडाई गर्दा पानीको शीर्षकमा निकासी हुने जुस जुसकै शीर्षकमा जान थालेको भन्सार विभागका एक अधिकारीले बताए ।

विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा गुलियो मिसाईएको पानीको शीर्षकमा जम्मा २० लाख ७१ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिव ५३ करोड रुपैयाँले कम हो । सरकारले आर्थिक बर्ष २०७९÷८० को बजेटमार्फ खानेपानीलगायत थप ९ वस्तुलाई निर्यातमा नगद अनुदान दिने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाको फाईदा उठाउँदै खनिजयुक्त पानी तथा प्रशोधित पानीको निर्यात केहि बढेपनि जुस उद्योगहरुले गुलियो मिसाईएको पानीको निर्यात पनि बढाएका थिए ।

तर, गत आर्थिक बर्ष भन्सार जाँचमै कडाई गरिँदा पानीको शीर्षकमा जाने कतिपय जुसहरुलाई जुसकै शीर्षकमा गणना गरेर जाँच गरेपछि यसको निर्यात गत वर्ष घटेको हुनसक्ने भन्सार विभागका प्रवक्ता पुण्यप्रसाद खड्का बताउँछन् । ‘केहि हदसम्म यस्तो पानीको माग पनि विदेशी बजारमा घटेको होला,’ उनले भने, ‘तर, पछिल्लो समय भन्सारमा कडाईका कारण जुन वस्तु हो सोही शीर्षकमा वस्तु निकासी भएको प्रभाव पनि यसमा देखिएको हुनसक्छ ।’

गत आर्थिक बर्षको तथ्यांकमा अघिल्लो आवको तुलनामा ‘२२०२१००० हार्माेनी कोड’मा निर्यात हुने यस्तो पानीको निर्यात घटेसँगै जुसको निर्यातमा भने एकाएक ठूलो अंकको वृद्धि देखिन्छ । भन्सार विभागकै तथ्यांकलाई केलाउँदा अघिल्लो अलवा २०७९/८० को तुलनामा गत आवमा नेपालबाट निर्यात हुने जुसको निर्यात झण्डै २ अर्ब रुपैयाँले बढेको छ । अर्थात आव २०७९/८० मा ४ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बराबरको निर्यात भएको यस्तो जुस गत आर्थिक बर्षमा बढ्दै ६ अर्ब २३ करोड ७८ लाख रुपैयाँ बराबरको पुगेको छ ।

यसरी हेर्दा पानीको शीर्षकमा निकासी भईरहेको जुसको परिमाण गत आर्थिक बर्षमा जुसकै शीर्षकमा जान थालेको जस्तो देखिएको खड्का बताउँछन् । नेपालले पानी खासगरी विभिन्न ४ शीर्षकमा विदेश निकासी गर्ने गरेको छ । जसमा कुनैपनि गुलियो नमिसाईएको खनिज पानी, अन्य मिनरल वाटर, हिउँ र बरफको रुपमा पानी र गुलियो मिसाइएको पानी सूचीकृत छन् ।

त्यसमध्ये पनि अन्तिम अर्थात गुलियो मिसाईएको पानी भने जिम हलमा, स्टेडियममा तथा खेल मैदानमा खेलाडीलाई पिउनका लागि प्रयोग हुने गर्छ । अर्थात कुनै धेरै शारिरिक अभ्यास हुने क्रियाकलापमा अभ्यासकर्तालाई यस्तो पानी दिईने गरेको छ । तर, सोही शीर्षकमा उद्योगहरुले जुस पनि निर्यात गरिरहेको पाईएपछि गत बर्ष भन्सार विभागले कडाईका साथ जाँच गरेको थियो । हाल डाबरलगायतका बहुराष्ट्रिय कम्पनीहरुले नेपालबाट जुस विदेशमा निर्यात गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL