Logo

नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न दुई चार्टर उडान हुने

नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न दुई चार्टर उडान हुने



काठमाडौं । नेपाल र भियतनामबिच पर्यटक आदानप्रदान गर्न दुई चार्टर उडान हुने भएको छ । रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदानप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागिएको हो ।

आगामी दशैंको टिकालगत्तै असोज ३० गते अर्थात् अक्टोबर १६ बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदानप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो । भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको छ ।

नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ । नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो ।

अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।

भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरिएको छ । उक्त मुल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुमाइनेछ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइनेछ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बे मा क्रुज सफारी हुनेछ । भ्रमणको चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइनेछ ।

कुल १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भएपनि एकै पटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइनेछ । १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL