Logo

रुस युद्धमा ३६ नेपालीको मृत्यु, पाँच जनाको मात्र अस्तुधातु नेपाल ल्याइयो

रुस युद्धमा ३६ नेपालीको मृत्यु, पाँच जनाको मात्र अस्तुधातु नेपाल ल्याइयो



काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज सम्पर्क-हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिकमध्ये सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि परिवारबाट निवेदन दिएको संख्या एक सय १८ जना रहेको छ । त्यस्तै घाइते वा अन्य कारणले फिर्ता गराईदिन अनुरोध गरिएकाको संख्या एक सय ६६ रहेको मन्त्रायलले जनाएको छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ३६ जनाको मृत्यु प्रमाणित भइसकेको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकमध्ये घाइते भई उपचारत रहेको जानकारी प्राप्त भएको संख्या पाँच (घाइते मध्ये एक जना नेपाल फिर्ता भइसकेको) छ । हालसम्म स्वदेश फर्किएकाको संख्या १६२, डिएनए परीक्षणका लागि अनुरोध भई आएको संख्या २२, र क्षतिपूर्तिका लागि नेपाल राजदूतावास, मस्कोबाट, कागजात माग भई आएको संख्या छ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङका विकाश राई, कास्कीका नेत्रबहादुर थापा, रुपन्देहीका उदयराज थारु, भोजपुरका प्रितम राई, दार्चुलाका ललित सिंह डोवाल, कैलालीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती र रुकुमका रामकुमार बुढा मगरको नेपाली राजदूतावासबाट मृत्य प्रमाणित भएर आउन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
रुसी सेनामा भर्ती भएकामध्ये युद्धका क्रममा विवेक खत्री (वर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ), प्रतिक पुन (रोल्पा), सुजन सुवेदी (चितवन), ईश्वर लामिछाने (मकवानपुर) हालसम्म यूक्रेनी सेनाको कब्जामा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL