Logo

हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न निर्देशन

हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न निर्देशन



काठमाडौँ । संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधानका लागि सिफारिस गर्न विज्ञहरूको संलग्नता एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो । पछिल्लो समयमा निरन्तर भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानबिन समितिहरू बन्ने गरेको भएता पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन कमजोर बन्दै गइरहेको समितिको निष्कर्ष छ ।

त्यसैले समितिले सो सम्बन्धमा नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धि कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए-नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न निर्देशन दिएको हो ।

समितिका सभापति राजकिशोर यादवले बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमुलक प्रतिवेदनहरू के, कुन अवस्थामा रहेका छन् ? सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ।

नेपालको हवाई उड्डयनको सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संघीय संसदमा पेश गर्न, गराउन पनि सरकारलाई निदेशन दिइएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL