Logo

लगातार रेकर्ड राख्दै डलरको मूल्य, यस्ता छन् डलरको मूल्यवृद्धिका कारणहरु

लगातार रेकर्ड राख्दै डलरको मूल्य, यस्ता छन् डलरको मूल्यवृद्धिका कारणहरु



काठमाडौं । पछिल्लो समय विश्वबजारमा डलरको मूल्य लगातार उकालो लाग्दो क्रममा छ । लगातार उकालो लागिरहेको डलरको मूल्यका कारण नेपालको छिमेकी देश भारतीय रुपैयाँ (भारु) पनि कमजोर हुँदै गएको तथ्यांकमा देख्न सकिन्छ । नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दरका कारण भारतीय मुद्रा अवमूल्यन अर्थात कमजोर हुँदा त्यसको बाछिटा नेपाली मुद्रामा पर्छ नै । त्यसैका कारण पछिल्लो हप्ता नेपाली मुद्रा पनि लगातार अवमूल्यन भइरहेको देख्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । यसअघि गएको मंगलबार एक डलर खरिद गर्नका लागि १ सय ३४ रुपैयाँ ४६ पैसा खर्च गर्नुपर्ने अवस्थामा पुगेको नेपाली मुद्राको अवस्था बिहीबार अझै अवमूल्यन हुँदै एक डलर खरिद गर्न १ सय ३४ रुपैयाँ ६४ पैसा खर्चनुपर्ने भएको छ ।

यता भारतीय मुद्रा पनि त्यसैअनुरुप ओरालो लागिरहेको छ । गएको मंगलबार एक डलर खरिद गर्नका लागि करिव ८४ डलर खचिर्नुपर्ने अवस्था आएको छ । पछिल्लो एक महिनाको तथ्यांक हेर्दा पनि अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा करिव २ रुपैयाँले अवमूल्यन भएको देखिन्छ ।

किन बढ्यो डलरको भाउ ?

खासगरी डलरको भाउ उकालो लाग्नुमा भूराजनीतिक, आर्थिक तथा अन्य कारणहरु मुख्य हुन्छन् । कुनै वस्तुको माग बढी हुँदा त्यसको मूल्य बढ्ने सामान्यतः अर्थशास्त्रको नियम डलरमा पनि लागू हुन्छ । पछिल्लो समय भने मध्यपूर्वमा बढेको भूराजनीतिक तनावको प्रत्यक्ष असर एशियाका धेरैजसो देशको मुद्रा अवमूल्यनमा परेको अर्थशास्त्रीहरु बताउँछन् । इरान र इजरायलबीच चर्किएको द्वन्दका कारण पछिको संचितिका लागि भन्दै बढाएको तेल आयातले डलरको माग बढाएको छ ।

यसरी डलरको माग उच्च हुँदा पछिल्लो समय यसको मूल्य बढेर अन्य मुद्राहरु कमजोर भइरहेको देख्न सकिन्छ । यस्तै अमेरिकामा स्थानीय आयातकर्ताहरुले धेरैजसो वस्तुहरुको आयात बढाएर आयात मूल्य घटेका कारण पनि रिभर्ज बैंकले मुद्रास्फीतिलाई सन्तुलनमा राख्न बैंक ब्याजमा केहि कटौती गर्ने चर्चा छ । यसैका कारण पनि डलरको माग उच्च रहेको यसले अन्य मुद्रालाई असर गरेको एकथरी अर्थशास्त्रीहरु बताउँछन् ।

के हुन्छ डलरको मूल्य बढ्दा ?

डलरको मूल्य बढ्नु भनेको विश्वबजारमा वस्तु र सेवाको मूल्य बढ्नु पनि हो । धेरै देशले गर्ने वस्तु आयात डलरमै हुने गरेको छ । डलरको मूल्य बढेको खण्डमा आयातित वस्तुको मूल्य यत्तिकै बढ्छ नै । त्यसैले यसको मूल्य प्रभावले समग्र अर्थ प्रणालीमै असर गर्ने गरेको छ ।

आयातमुखी अर्थतन्त्र भएको नेपालका लागि डलरको मुल्य बढ्नुको प्रत्यक्ष असर वस्तुको मुल्यमा पर्ने बिषय विज्ञहरु बताउँछन् । नेपालले बढी पैसा खर्च गरेर डलर खरिद गर्ने र सोही डलरले विदेशी वस्तु खरिद गरेर उपभोग गर्ने अवस्था छ । यसले विभिन्न वस्तुको मुल्य बढेसँगै ढुवानी खर्च, करलगायतमा पनि वृद्धि गरिदिन्छ । तसर्थ डलरको मुल्य बढ्नुको प्रत्यक्ष सम्बन्ध उपभोक्ताको खल्तिसँग हुन्छ ।

तर, नेपालमा ठूलोमात्रामा रेमिटयान्स भित्रिने भएकाले नेपाललाई डलर बढदा फाइदा पनि हुने गर्छ । रेमिटयान्स रकम डलरका रुपमा आउने भएकाले नेपालमा रेमिटयान्स पठाउनेहरुलाई भने यसले फाईदा पुर्याउँछ । उनीहरुले कम डलर पठाएर धेरै नेपाली पैसा पाउने भएपछि फाईदा हुने गर्दछ । नेपाली मुद्राको तुलनामा बिहीबार डलरको खरिद मूल्य १ सय ३४.०४ रुपैयाँ छ भने विक्री मूल्य १ सय ३४.६४ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL