नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ एड्भेन्चर अफ द इयरको मनोयनमा परेकी छन्।
नेसनल ज्योग्राफिकले विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी राईसहित मनोनयनमा परेका १०जनाको नाम शुक्रबार सार्वजनिक गरेको हो।
प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न सकिने बताइएको छ ।
जसबाट सर्वाधिक भोट ल्याउनेलाई वर्षको साहसिक व्यक्ति घोषणा गरिनेछ। यसमा भोट हाल्ने म्याद डिसेम्बर १६ सम्म छ। विजयीको घोषणा भने सन् २०१७ जनवरीमा गरिनेछ।
मीरा गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्।