Logo

प्रतिबद्धताभन्दा कम लगानी भित्रिएपछि उद्योग विभाग एक्सनमा, ३५ दिनभित्र लगानी नभित्र्याए धरौटी जफत

प्रतिबद्धताभन्दा कम लगानी भित्रिएपछि उद्योग विभाग एक्सनमा, ३५ दिनभित्र लगानी नभित्र्याए धरौटी जफत



काठमाडौं । उद्योग विभागले विदेशी लगानीकर्ताहरुलाई तोकिएकै समयभित्र लगानी नभित्र्याए धरौटी जफत गरिने चेतावनी दिएको छ । पछिल्लो समय विभागमा लगातार अर्बाैंको लगानी प्रतिवद्धता आएपनि सोहीअनुसारको लगानी नभित्रिने समस्या बढेपछि विभागले विदेशी लगानीकर्ताहरुलाई यस्तो चेतावनी दिएको हो ।

गएको आर्थिक बर्ष २०८०÷८१ मा मात्रै नेपालमा विभिन्न देशका लगानीकर्ताहरुले करिव ६२ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका छन् । तर, यता राष्ट्र बैंकको तथ्यांकलाई हेर्दा गत आवको ११ महिनामा जम्मा ८ अर्ब २६ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी भित्रिएको छ । यो लगानी प्रतिवद्धताको तुलनामा झण्डै ५४ अर्बले कम हो ।

यस अघि अघिल्लो आर्थिक बर्ष २०७९÷८० मा पनि उद्योग विभागमार्फत ३७ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल विदेशी लगानी प्रतिवद्धता स्वीकृत भएको थियो । तर, उक्त बर्ष राष्ट्र बैंकमार्फत लगानीका रुपमा जम्मा ७ अर्ब ७६ करोड रुपैयाँ मात्रै थियो । यिनै परिदृश्यलाई हेर्दा हालसम्म नेपालमा औसतमा बार्षिक प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धताको जम्मा १५ देखि २५ प्रतिशतसम्म मात्रै भित्रिने गरेको देखिन्छ ।

उच्च अंकमा लगानी प्रस्ताव आएपनि सोहीअनुसार लगानी नभित्रिनुमा सरकारी कानुनी अड्चन्, जग्गा प्राप्तिमा झेल्नुपर्ने समस्या, सरकारी सहजीकरणमा कमीका कारण भनेबमोजिमको लगानी ल्याउनै लगानीकर्तालाई अप्ठ्यारो हुने सरोकारवालाहरु बताउँदै आएका थिए । अब भने सरकारले गएको लगानी सम्मेलनमार्फत एकैपटक धेरै कानुनहरु संशोधन गरिएको खण्डमा पनि लगानी प्रतिवद्धताअनुसार लगानी आउने छाँटकाँट नदेखिएपछि लगानीकर्तालाई कडा निर्देशन दिईएको उद्योग विभागका एक अधिकारीले बताए ।

प्रतिवद्धता गरेपनि धेरैजसो लगानीकर्ताले विभिन्न चरणमा गरी लगानी भित्र्याउने हुनाले पनि प्रतिवद्धताको तुलनामा भित्रिने रकम न्यून हुने गरेको थियो । तर, कतिपय लगानीकर्ताहरुले पहिलो चरणको लगानीसमेत नल्याउने प्रवृत्ति पछिल्लो समय हावी हुँदै गएको उनले बताए । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले विभाग वा लगानी बोर्डबाट लगानीको स्वीकृत पाएका विदेशी लगानीकर्ताहरुले तोकिएको समयमा लगानी भित्र्याइसक्नुपर्ने उल्लेख छ । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ मा भने विभिन्न चरणमा गरी २ बर्षभित्र लगानी सबै भित्र्याइसक्नुपर्ने उल्लेख गरिएको छ ।

यसरी लगानी भित्रयाउँदा एक बर्षको अवधिमा पहिलो चरणमा करिव ७० प्रतिशत लगानी भित्र्याएसक्नुपर्ने र स्वीकृत भएको २ बर्षभित्र थप ३० प्रतिशत गरी कुल लगानी रकम भित्र्याइसक्नुपर्ने उल्लेख छ । तर, ऐन र नियमावलीमा गरिएको व्यवस्थालाई धेरैजसो विदेशी लगानीकर्ताहरुले लत्याएका कारण यसपटक उद्योग विभागले ३५ दिने सूचना जारी गर्दै ३५ दिनभित्र तोकिएको लगानी भित्र्याउन निर्देशन दिएको छ ।

सूचनाअनुसार विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताहरुले कानुबमोजीम तोकिएको समयमा उद्योग संचालन गरेको जानकारीसहित आगामी ३५ दिनमा विभागमा जानकारी गराए उद्योग दर्ता गर्दाका बखतको धरौटी रकम फिर्ता लैजान सक्नेछन् । यदि ३५ दिनभित्र जानकारी नगराएको खण्डमा भने विभागले लगानीकर्ताले विभागमा राखेको धरौटी नै जफत गर्ने चेतावनी दिएको छ । यस्तै विभागले नयाँ लगानीकर्ताहरुलाई पनि तोकिएको समयभित्रै लगानी भित्र्याउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL