काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) नयाँ सरकार गठन हुँदैछ । प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्नेछ । उक्त दावीमा एमालेले पनि समर्थन गर्नेछ ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । आज साँझ सम्म यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ । मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना बढी देखिएको छ ।
अरू दुई आकांक्षी प्रकाश देउवा र बहादुरसिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडि बढाउन निर्देशन दिइसकेका छन् । कांग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ । बैठकमा यस विषयमा ठोस निर्णय हुने कांग्रेस नेताहरू बताउँछन् । संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा टुङ्गो लगाउने जनाइएको छ । उक्त बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ । कांग्रेसबाट नयाँ अनुहार मन्त्रीमा समावेश हुने सम्भावना रहेको छ ।
यता एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने कुनै निर्णय गरेको छैन । दीर्घ सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्की मन्त्री थिए । पुराना तीन जना मन्त्रीमध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना रहेको एमाले स्रोतको भनाइ छ ।
पुराना केही मन्त्री नयाँ सरकारमा सहभागी नहुँदा केही नयाँ मन्त्री समावेश हुने सम्भावना रहेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ । नाउपाबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने छन् । आज पाँच बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्ने र आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ ।