Logo

पोखराको विकासबारे ध्यानाकर्षण, अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईसेवा सञ्चालन गर्न ध्यानाकर्षण

पोखराको विकासबारे ध्यानाकर्षण, अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईसेवा सञ्चालन गर्न ध्यानाकर्षण



काठमाडौं । पर्यटन राजधानी पोखराको विकास र समुन्नतिका सन्दर्भमा नेपाली कांग्रेस कास्कीले काठमाडौंमा सङ्घीय मन्त्री तथा मन्त्रालयका कर्मचारीहरुसँग भेटघाट गर्नुका साथै परामर्शका साथ यहाँका समस्याबारे जानकारी गराएको छ ।

नेपाली कांग्रेस कांस्कीका सभापति किशोरदत्त बरालको नेतृत्वमा पार्टी पदाधिकारी, गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री, विज्ञहरू, उद्योगी, व्यापारी, काठमाडाँैमा रहेका पार्टी प्रतिनिधि सम्मिलित टोलीले सङ्घीय मन्त्रालयमा पुुगी पोखरा क्षेत्रको विकास र समुन्नतिका विषयमा ध्यानाकर्षण गराएको हो ।

गृह, शिक्षा, स्वास्थ्य, परराष्ट्र, सहरी विकास, संस्कृति तथा पर्यटन मन्त्रालयमा भएका भेटघाट र परामर्शमा मन्त्रीहरूले विकास र समुन्नतिका सन्दर्भमा चासो देखाउँदै त्यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको टोलीमा सम्मिलित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले बताइन् ।

प्रदेशको राजधानीका साथै पर्यटन राजधानी पोखराको विकासले समग्र नेपालको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पर्यटन विकासमा सहजीकरण गर्न यो भेटघाट र परामर्श महत्वपूर्ण रहेको बताए । विभिन्न चरणमा भएका भेटघाट र परामर्शमा पोखराको पर्यटन, सहरी विकास र स्वास्थ्यसम्बन्धी विषयलाई टड्कारो रुपमा उठाइएको नेतृ पौडेलले बताइन् ।

भेटमा कोरला र वाल्मीकि नगरको उत्तर दक्षिण नाका खोलेर ‘इन्टरसिटी ट्रेड कनेक्टीभिटी’ बढाउने, पोखरामा महावाणिज्य दूतावास खोल्ने, भारत र चीनका नजिकका सहरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईसेवा सञ्चालन गर्ने र चीनसँग भएको हवाई सम्झौता कार्यान्वयनमा ल्याउनेलगायतका विषय उठाइएको छ ।

यस्तै गङ्गालाल हृदयरोग केन्द्रको प्रादेशिक अस्पताल सेवा सञ्चालन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जग्गा उपलब्ध गराइसकिएको विषय, औद्योगिक क्षेत्र पूर्वाधार व्यवस्थापन, पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि विवादरहित जग्गा उपलब्ध भएको, अस्पताल र औषधिमा भएको ‘सिण्डीकेट’ तोड्नेलगायत महँगी नियन्त्रण एवं लगानी सहजीकरण जस्ता विषयमा सङ्घीय मन्त्रीहरूसँग छलफल र परामर्श गरिएको थियो ।

परामर्श तथा छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आन्नन्दराज मुल्मीले सहजीकरण गरेका थिए । यस किसिमको छलफल र परामर्शबाट सरकारले दिशानिर्देश प्राप्त गर्ने र यसले मन्त्रालय तथा स्वयं सरकारको काम र योजनालाई अघि बढाउन सहयोग पुुग्ने बताउँदै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले उक्त अभियानको सराहना गरेको पौडेलले बताइन् ।

छलफल र परामर्श टोलीले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलगायतलाई भेटी पोखराको समग्र विकास निर्माणको स्थिति र सम्भावनाबारे ध्यानाकर्षण गराएको भ्रमण दलका सदस्य एवं कास्की कांग्रेसका सदस्य बाबुराम गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL