Logo

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने-सडक बत्तीको लाइन काटे लडाईं हुन्छ

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने-सडक बत्तीको लाइन काटे लडाईं हुन्छ



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मुल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन् ।

आज (बिहीबार) काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले यस्तो आशंका गरेका हुन् । उनले स्थानीय सरकारको गठन पश्चात शहरी व्यवस्थापनका सन्दर्भमा उपत्यका भित्रका सार्वजनिक सडक, सम्पदा, पर्यटकीयस्थल लगायतका सार्वजनिकस्थलहरूमा सुन्दरता र सुरक्षा व्यवस्थापन कायम गर्न सडक बत्ती तथा सिसिटिभी व्यवस्थापन स्थानीय सरकारबाट हुँदै आएको बताए ।

काठमाडौं उपत्यकाभित्र पर्ने राजमार्ग, चक्रपथलगायतका अधिकांश मुल सडकहरूमा जडान भएका सडक बत्तीहरूको बिल समेत स्थानीय सरकारको बिलमा समावेश गरिएको भन्दै केन्द्रिय सरकार तथा प्रदेश सरकारको मातहतमा रहेका उक्त सडक तथा आयोजनाहरूमा जडित सडक बत्तीहरूको महसुलको विषय केन्द्रिय सरकार र प्रदेश सरकारकै दायित्वभित्र पर्ने बताए ।

उनले आ.व.२०८०/८१ सम्मको बिल भुक्तानी नेपाल सरकारले गर्ने पूर्वअर्थ मन्त्री वर्षमान पुनबाट प्रतिवद्धता व्यक्त भएको अवगत गराउँदै आ.व.२०८१/८२ देखिको बिल भुक्तानी स्मार्ट सडक बत्ती जडानमा अवलम्बन गरिएको मोडल (स्थानीय तहवाट ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणबाट ४० प्रतिशत) अनुसार स्थानीय पालिका मातहतका सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महसुल भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरे । तर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगहरूमा झैँ विद्युत काटिदिनसक्ने भन्दै त्यसो नगर्न चेतावनी दिए । उनले विद्युत काटिएको खण्डमा आन्दोलन शुरु हुने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘आर्थिक वर्ष २०८०/२०८१ सम्मको बिजुली बत्तीको तिर्नुपर्ने पैसा कहिलेदेखि शुरु भयो भन्ने थाहा नै छैन । यति पैसा ललितपुर महानगरपालिकाले तिर भन्यो, यति पैसा चन्द्रागिरीले तिर भनेको छ । त्यति त तिर्न पनि सक्दैनौँ हामी । तिरेकै खण्डमा पनि भोलि त्यो बेरुजु निस्किन्छ । कथंकदाचित यदि यो काठमाडौं उपत्यकाभित्रको स्थानीय पालिकाहरूले अहिले जुन रफ्तारमा काम गरिरहेको छ । कहिलेदेखिको बिजुलीको बत्तीको शुल्क तिर्ने भन्ने कुराको डिफाइन गरिएको छैन । त्यो कुरालाई लिएर गएको आर्थिक वर्ष २०८०/०८१ सम्मको हामीले सबैलाई तिर्न नपर्ने गरिदिने र त्यसपछि हामी पैसा तिर्छौं । तर तिर्ने फम्र्याट के त ? ६० प्रतिशत हामी तिर्छौं, ४० प्रतिशत सरकारले तिर्नुपर्छ । पछिल्लो कालखण्डमा गएर केही बत्तीहरू काटेको सुन्नमा आयो । त्यसपछि प्रधानमन्त्रीज्युलाई आग्रह गरेका थियौँ । यसलाई टुंग्याइदिनुपर्छ । सम्भवतः कुलमान घिसिङले फेरि अस्ति उद्योगतिर बत्ती काटे जस्तै हामीतिर पनि काट्यो भने लडाईं हुन्छ, यो त राम्रो हुँदैन । हामीले जे जति काम गरिरहेका छौँ, संघीय सरकारको फेस सेभिङ काम गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
MBL