Logo

अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने भएका छन् । सङ्घीय सरकारमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइ दिन हुन अनुरोध गरेको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताए ।

मुख्यमन्त्री सोडारीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने कुरा पनि प्रदेश सभा सचिवालयलाई लेखिएको पत्रमा उल्लेख छ । मुख्यमन्त्रीको आग्रह अनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक आह्वान गरेको सूचना अधिकारी जैसीले बताए ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । तर मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, एकीकृत समाजवादीका चार, र स्वतन्त्रको एक गरेर १५ मत मात्रै पर्ने देखिन्छ । उनको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तिका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । कांग्रेस र एमालेबिचको सहमति अनुसार अब सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ । कांग्रेसले अझै कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL