Logo

संसदका दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूचीमा ?

संसदका दुवै सदनको बैठक बस्दै, के-के छन् कार्यसूचीमा ?



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (मंगलबार) बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र (संयुक्त समिति कार्य सञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै आज राष्ट्रिय सभामा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL