Logo

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा उपस्थित

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा उपस्थित



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छन् । उनी आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन अदालतमा उपस्थित भएका हुन् ।

३५ दिनअघि अख्तियारले अर्यालविरुद्ध राजस्व विभागको अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।

अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो । त्यही मुद्दा लागेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतमा हाजिर भएका थिए, उनलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो । तर अरु मुद्दामा थुनामा परेका कारण उनी छुट्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL