Logo

तार भूमिगत भइसकेको ठाउँमा पनि पोल हटाउन सकस, इन्टरनेट सेवाप्रदायक भन्छन-प्राधिकरणले दादागिरी देखायो

तार भूमिगत भइसकेको ठाउँमा पनि पोल हटाउन सकस, इन्टरनेट सेवाप्रदायक भन्छन-प्राधिकरणले दादागिरी देखायो



काठमाडौं । बिजुलीको तार भूमिगत गरिएका स्थानका विद्युत पोलहरु हटाउने सूचनासँगै विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच टक्कर सुरु भएको छ । तार भूमिगत गरेर घरघरमा पुर्याइसकेको स्थानमा नेपाल विद्युत प्राधिकरणले पोलहरु हटाउने भन्दै करिव २ महिना अघि एक सूचना जारी गरेको थियो । सूचनामा काठमाडौंका विभिन्न ठाउँका जडान गरेका भूमिगत विद्युत प्रणालीको परीक्षण गरिने र उक्त स्थानको पोलहरु पनि हटाउनुपर्ने भएकाले पोलमा रहेका फाईबर, केबल, अन्य उपकरणहरु हटाउनुपर्ने उल्लेख छ ।

गत जेठमा ६ महिनाको समयावधि राखेर सार्वजनिक गरिएको सूचनाअनुसार काठमाडौंका पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत जडान भइसकेकाले परीक्षणको तयारी भएको जनाएको थियो । तर, उक्त स्थानमा सबै तार भूमिगत भइसकेपछि प्राधिकरणले आफ्नो मातहतमा रहेका पोलहरु हटाउने बताएको थियो । सूचना जारी भएको २ महिना वितिसक्दा केबल तथा इन्टरनेट सेवाप्रदायकहरुले आफ्ना केबल, फाईबर तथा अन्य उपकरणहरु पोलबाट स्थानान्तरण वा हटाउन मानिरहेका छैनन् ।

इन्टरनेट सेवा अत्यावश्यक सेवामा पर्ने भएकाले विद्युत प्राधिकरणले सूचना निकाल्दैमा फाईबर तथा उपकरणहरु पोलबाट हटाउन असम्भव भएकै कारण हटाउन नसकिएको सेवाप्रदायकहरुले बताउँदै आएका छन् । प्राधिकरणले सूचना जारी गर्दैमा ६ महिनाभित्रै पोलबाट फाईबर, तार र उपकरण हटाउन नसकिने इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुली बताउँछन् । ‘प्राधिकरणले ६ बर्ष लगाएर तार भूमिगत गरेको छ, अनि हामीलाई ६ महिनामै तार भूमिगत गर भनेको छ यो जायज होईन,’ उनले भने, ‘कि हामीलाई पनि केहि समय दिनुपर्छ नत्र तार लैजाने अन्य वैकल्पिक बाटो चाहिन्छ ।’ एक इन्टरनेट सेवाप्रदायक कम्पनीका संचालकले भने प्राधिकरणले भन्दैमा तार हटाउन नसकिने अवस्था रहेको बताए । उनले प्राधिकरणले यसको विकल्प नदिइकन तार हटाउन लगाउनु अस्वभाविक भएको बताए । ‘हालसम्म पोलमा टाँगिएका तारहरुलाई ६ महिनाभित्रै हटाउ भन्नु प्राधिकरणको दादागिरी हो,’ उनले भने, ‘राज्यले यस्तो दादागिरी देखाएर चल्छ ?’

प्राधिकरणले २०७५ सालमा तार भूमिगत सुरु गर्नुपूर्व नै पोलमा टाँगिएका अन्य केवल तथा इन्टरनेट सेवाप्रदायकहरुलाई बोलाएर २ ओटा डक्ट (पाइप)हरु उनीहरुका लागि पनि भूमिगत गरिदिने सहमति भएको थियो । सोहीअनुसार प्राधिकरणले विद्युत तार अन्डरग्राउन्ड गरिरहेको स्थानमा २ ओटा पाइपहरु अन्य सेवाप्रदायकहरुका लागि पनि राखिँदै आएको छ । उक्त दुईओटा पाईप हाल उपयोगविहिन छन् । अन्डरग्राउन्ड गरिएका पाइपको प्राधिकरणमा स्वामित्व भएकाले ती पाइपमार्फत फाईबरहरु लैजान थप छलफल गर्नुपर्ने इन्टरनेट सेवाप्रदायकहरु बताउँछन् । प्राधिकरणबाहेकका अन्य सेवाप्रदायकहरुका लागि दुईओटा पाइप गाडिँदै आएको भएपनि प्राधिकरणले उक्त पाइप कसरी र कुन मोडेलमा प्रयोग गर्ने भनेर कुनै निक्र्याेल ननिकालेकाले अझै प्रयोग गर्न नसकिएको आइस्पानका अध्यक्ष पराजुलीले बताए ।

‘हाम्रा लागि दुईओटा पाइप त छन् तर, त्यो कुन मोडलमा, कसरी र क–कसले प्रयोग गर्ने भन्ने यकिन भईसकेको छैन,’ उनले भने, ‘प्राधिकरणले आफुले धमाधम तार अन्डरग्राउन्ड गर्याे तर, हामीसँग कसरी तार व्यवस्थापन गर्ने भन्नेबारे परामर्श गरिएन ।’ उनले प्राधिकरणले अन्डरग्राउन्ड गरिएका पाइप वा फाईबर प्रयोगसम्बन्धी कार्यविधि वा योजना बने तुरुन्तै त्यसको प्रयोग गर्न सबै सेवाप्रदायक राजी भएको बताए ।

यता प्राधिकरणले भने सहरको सौन्दर्यीकरणका लागि भन्दै तार अन्डरग्राउन्ड गरी घरघरसम्म पुर्याएका स्थानमा पोल हटाउने काम सुरु गर्ने बताएको थियो । बर्षौंदेखि बिजुलीका पोल र यसमा झुण्डिएका तारका कारण सहर कुरुप भएको गुनासो आउने गरेको छ । सोही अनुसार चाँडोभन्दा चाँडो तार अन्डरग्राउन्ड गरिसकेपछि प्राधिकरणले पोल हटाउने योजना बनाएपनि हालसम्म केबल तथा इन्टरनेट सेवाप्रदायकहरुले आफ्ना संरचनाहरु पोलबाट नहटाउँदा प्राधिकरण तनावमा छ ।

प्राधिकरणले सूचना जारी गरेपनि इन्टरनेट तथा केबल सेवाप्रदायकले उक्त सूचनाको अवज्ञा गर्दै आइरहेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए । ‘हामीले सूचना जारी गरिसकेका छौं, ६ महिनासम्म कुर्छाैं,’ उनले भने, ‘त्यो अवधिसम्म वहाँहरुले मान्नुभएन भने प्राधिकरण कडारुपमा प्रस्तुत हुनुपर्ने अवस्था आउन सक्छ ।’ उनले प्राधिकरणको पोल प्रयोग गरिरहेका अन्य सेवाप्रदायकहरुलाई प्राधिकरणले अप्रिय निर्णय नगर्दै पोलबाट संरचना हटाउन आग्रह गरे । प्राधिकरणले भूमिगत विद्युत प्रणाली योजना पूरा गरिसकेका ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन सूचना जारी गरेको थियो ।

काठमाडौं उपत्यकामा विद्युत तार भूमिगत प्रणालीको काम हालसम्म काठमाडौंको करिव ९० प्रतिशत स्थानमा सम्पन्न भईसकेको छ । यसरी तार भूमिगत गरिएको स्थानमा प्राधिकरणले घरधुरीसम्म भूमिगत प्रणालीमार्फत नै लाइन जडान गरी विद्युत सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL